अनिल नेपाली / अर्घाखाँची : उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले वर्तमान सरकारको विरुद्धमा लागेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन नखोज्नु सरकार निरन्तरताको निम्ति बलियो प्रमाण भएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री हुने तिब्र चाहना अरु दलले नपत्याएपछि चक्नाचुर भएको भन्दै उहाँले प्रचण्डले प्रधानमन्त्रीको लाईन छोडेर मिलिजुली सरकार बनाऔं भन्दा पनि अरु दलले बेवास्ता गरेको बताउनुभयो । रायमाझीले नेपाली कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउने कुरा असम्भव भएको भन्दै वर्तमान सरकारले नै निर्वाचन गराउने ठोकुवा समेत गर्नुभयो । प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरालाई निरंकुश र अलोकतान्त्रिक भन्ने दलहरूले अहिले पछुतो मान्दै गएको उहाँको भनाई थियो । नेकपा एमालेका नेता समेत रहनुभएका रायमाझीले आफुले व्यक्तिगत स्वार्थलाई कहिल्यै नहेर्ने भन्दै राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । उहाँले पछिल्लो दशक अर्घाखाँचीमा कहिल्यै नभएको विकास भएको भन्दै शिक्षा, स्वास्थ्य, यातायात, जलविद्युत, खानेपानी र सिंचाइका क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी गर्नुभयो । रायमाझीले घरघरमा पिउने पानीको धारा पुर्याउने काम भैरहेको, जिल्ला अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन बजेट निकासा भएको, सालझण्डी ढोरपाटन, तम्घास–सन्धिखर्क, सन्धिखर्क–प्युठान, पाल्पा–तानसेन, रिडी–बल्कोट, गच्छेभालुवाङ लगायतका मुख्य मुख्य सडक पिच गर्ने गरि तयारी भएको बताउनुभयो । उहाँले टोलटोलमा मोटर बाटो पुर्याएको, दर्जनौं पक्की पुल निर्माण गरेको, अधिकांस सरकारी बिद्यालयमा नयाँ भवन बनाएको, पाणिनि क्याम्पसलाई सुविधा सम्पन्न क्याम्पस बनाउने काम भएको, पर्यटन प्रवद्धनको निम्ति उल्लेख बजेट छुट्याएको, युवा स्वरोजगार मार्फत हजारौं युवाहरुलाई रोजगारी दिने तयारी गरेको, व्यवसायीक पशुपालन र आधुनिक खेतीमा कृषकलाई आकर्षित गर्न प्रयाप्त अनुदानको व्यवस्था गरेको बताउनुभयो ।
प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी.लेकालीको अध्यक्षता, सदस्य नवीन के.सी.को संचालन र सदस्य वसन्त श्रेष्ठ छापेलीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’, नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य चेतनारायण आचार्य, नेकपा एमालेका प्रदेश सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रेस चौतारी नेपालका प्रदेश संयोजक शोभाखर पन्थी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्