अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिहिवार सम्पन्न सम्मेलनले बाबुराम नेपालीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पदम नेपाली सचिवमा गिरिजा खड्का, सहसचिवमा प्रेम विक, कोषाध्यक्षमा सुनिल नेपाली निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय अध्यक्ष प्रवीणले संसदीय व्यवस्था रहेसम्म विद्यार्थीहरु बेरोजगारको शिकार भैराख्नुपर्ने परिस्थिती यथावत् कायम रहिरहने बताए । उनले वर्तमान दलाल शिक्षा प्रणालीका कारण युवाहरु बेरोजगारी भई लागुऔषध दुव्र्यसनीको शिकार बन्न बाध्य भएको भन्दै सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवादी शिक्षा प्रणाली प्राप्तिका लागि संघर्ष गर्न अपिल गरे । उनले भने, ‘अहिलेको शिक्षालाई उत्पादन प्रणालीसंग जोडेर आत्मनिर्भर बनाउनुपर्छ, जून नेकपाले गरिरहेको छ ।’ प्रवीणले असमान शिक्षा प्रणालीबाट प्रतिस्पर्धा गर्न नसकिने बताउँदै युवा विद्यार्थीहरुलाई एकीकृत जनक्रान्तिमा समाहित बनाएर व्यक्ति, समाज र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने तर्फ आफूहरु लागिरहेको बताए । नेता प्रवीणले आफ्नो पार्टी र वर्तमान सरकारबीच भएको ३ बुँदे सहमतिलाई भाड्न खोजेको र केही राजनितिक दलले गलत प्रचार गरेको भन्दै क्रान्ति छोडेर आफुहरु सरकारमा नजाने बताए । उनले आम नेपाली जनसमुदायको मुक्तिको निमित्त व्यवस्था बदल्नुपर्ने बताए ।
अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले सम्पूर्ण समस्याहरूको समाधानको लागि वैज्ञानिक समाजवादी शिक्षा नै अहिलेको आवश्यकता रहेको बताए ।
अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले वैज्ञानिक समाजवादी शिक्षाले मात्र विद्यार्थीहरुको सम्पूर्ण समस्या समाधान गर्ने र वर्तमान दलाली, अव्यवहारिक, बेरोजगारी शिक्षा प्रणालीलाई निमित्यान्न पारी वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा अर्घाखाँचीका जिल्ला सचिव माहुरीले विगतको सन्दर्भमा नेकपाको तर्फबाट भएका घटनाहरू जनतामाथि अन्याय र दमन गरिएको कारणले जनताहरुले प्रतिरोध गरेको बताए ।
नवनिर्वाचित समितिलाई संगठनका पूर्व अध्यक्ष नविन खड्का, शिक्षक संगठनका अध्यक्ष लक्ष्मण ओली, जिल्ला सल्लाहाकार टामलाल बस्याल, जनपत्रकार संगठनका केन्द्रिय सदस्य अनिल नेपाली लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
सम्मेलनको पूर्व सन्ध्यामा भक्तिटोलाबाट ¥याली निकाली बजारका मुख्य चोकमा परिक्रमा गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयबाट ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिती रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्