बिसु जनसांस्कृतिक परिवार जनताको घरदैलोमा 

कला, नृत्य र विभिन्न रचनात्मक प्रस्तुति

बिसु जनसांस्कृतिक परिवार जनताको घरदैलोमा 

गणेश एसके । कञ्चनपुर । कञ्चनपुरमा नव गठित बिसु जनसांस्कृतिक परिवारको टीम आफ्ना प्रस्तुति लिएर जनताको घरदैलोमा पुगेको छ । शुक्रबार उक्त टीमले कला, नृत्य र विभिन्न रचनात्मक तरिकाले आफ्ना प्रस्तुति देखाएर आफ्ना क्रियाकलाप अघि बढाएको छ ।

नव गठित बिसु जनसांस्कृतिक परिवारले आफ्नो पहिलो प्रस्तुति कञ्चनपुरको भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेपछी पार्टीका आफ्ना सबै ज.ब.स मोर्चाहरुले पार्टीका क्रियाकलाप तिब्रताका साथ अघि बढाएको छन् । यसै सन्दर्भमा पार्टीको दुई महीने जनजागरण अभियान अन्तर्गत भीमदत्त नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उक्त सांस्कृतिक टिमले आफ्नो बेजोड प्रस्तुति देखाएको थियो । 

उक्त कार्यक्रममा जिल्ला पार्टी इन्चार्ज तथा प्रमुख अतिथि रहेका रमेश नेपाली ‘जीवन’ ले कार्यक्रममा बोल्दै एकिकृत जनक्रान्तिको यात्रामा सांस्कृतिक टिमको महत्वपूर्ण भूमिका रहने बताए । उनले कला, नृत्य, र गीतका माध्यमबाट आम जनसमुदायमा पार्टीको विचार र धारणा पुर्याउन सफल हुने बताए ।

क.दीपेन्द्र ऐरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि अखिल (क्रान्तिकारी) सेम ब्युरो इन्चार्ज वीरेन्द्र शाह, केन्द्रिय सदस्य प्रकाश जप्रेल, संकर महरा, युवाका अध्यक्ष वीरेन्द्र जोशी लगायत अन्य जनसमुदायको सहभागिता रहेको थियो ।