पोर्चुगलमा भएको ठगी घटनाप्रति विभिन्न संघसंस्थाद्धारा गम्भीर ध्यानाकर्षण

ठगी घटनाका मुख्य अभियुक्त लक्ष्मी ट्राभल एजेन्सी लिजवनका सञ्चालक विक्रमजंग कुँवर

पोर्चुगलमा भएको ठगी घटनाप्रति विभिन्न संघसंस्थाद्धारा गम्भीर ध्यानाकर्षण

बुटवल । पोर्चुगलमा नेपाली नागरिकहरूमाथि नेपालीबाट नै भएको ठगीप्रति विभिन्न संघसंस्थाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण गरेको छ ।

अत्यन्त अनैतिक, गैर जिम्मेवार र निम्न पुँजीवादी दलाल मानसिकताले प्रेरित उक्त ठगी घटनाका मुख्य अभियुक्त लक्ष्मी ट्राभल एजेन्सी लिजवनका सञ्चालक विक्रमजंग कुँवर तथा ठगीमा संलग्न अन्यलाई समेत कडा भन्दा कडा कारबाही गर्दै सम्पूर्ण पीडितलाई कानुनी न्यायसहित उचित क्षतिपुर्ति दिलाउन गरिने संघर्षप्रति चार संघसंस्थाको पूर्ण एक्यबद्धता र समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ ।

गैर आवासीय नेपाली संघ, जर्मनीका अध्यक्ष हरी न्यौपाने, प्रवासी नेपाली मञ्च, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, प्रवासी नेपाली एकता मञ्च, जर्मनीका अध्यक्ष सागर पोख्रेल र नेपाली जनप्रगतिशिल मोर्चा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापोद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ :

‘नेपाली जनसम्पर्क समिति पोर्चुगलका सदस्य तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले सञ्चालन गरेको लक्ष्मी ट्राभल एजेन्सी लिजवनद्धारा नक्कली हवाई टिकट जारी गरी सयौ नेपाली श्रमिकहरूलाई ठगेर अलपत्र पारेको लिजवनस्थित अवैतनिक नेपाली महावाणिज्यदुत मार्फत् पुष्टी भएको छ ।’