अखिल (क्रान्तिकारी)द्वारा मृतक यात्रुहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूमा शिघ्र स्वास्थ्य लाभको कामना !

मृतक यात्रुका परिवारलाई आवश्यक राहतको व्यवस्था गर्न राज्यसँग माग

अखिल (क्रान्तिकारी)द्वारा मृतक यात्रुहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूमा शिघ्र स्वास्थ्य लाभको कामना !

काभ्रे । अखिल (क्रान्तिकारी) काभ्रे जिल्ला समितिले यही जेठ ४ गते काठमाडौँबाट रूकुमका लागि हिँडेको ना ५ ख २७१३ नम्बरको गाडी नवलपरासीको दाउन्ने नजिक खुर्सानी खोलामा भएको दुर्घटनामा परी ४ जना मृतक यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली र ४९ जना घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बिहिबार संगठनका काभ्रे जिल्ला संयोजक सुरज लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाले संगठनलाई मर्माहत र स्तब्ध तुल्याएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनामा परी हाम्रो संगठनका काभ्रे जिल्ला सदस्य, बनेपा पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत क. पुरन पौडेल, संगठनका सदस्यहरू क. नरेन्द्र क्षेत्री र क. सुनिल क्षेत्री समेत घाइते हुनुभएको छ । हाम्रो संगठन घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउने यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ  र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कोरोनाको महामारीको यो बेलामा सवारीसाधनहरू चलाउँदा सुरक्षामा विशेष ध्यान दिन पनि हाम्रो संगठन माग गर्दछ । घटनामा परी ज्यान गुमाउने यात्रुका परिवारलाई आवश्यक राहतको व्यवस्था गर्न र घाइतेहरूको उपचारको व्यवस्था मिलाउन राज्यसँग माग गर्दछ ।’