बुटवल । बुटवल उद्योग बाणिज्य संघ अन्तरर्गत गठित गिफ्ट तथा कस्मेटिक वस्तुगत समितिले बुटवलको सिदार्थ महिला तथा बाल अस्पतालमा स्थापना गर्न लागिएको बुटवल उद्योग बाणिज्य संघ कोभिड वार्डको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पतालमा आईसीयु सेवा सञ्चालनको लागि संघको तर्फबाट हुने सहयोगको लागि बस्तुगत समितिले १ लाख २५ हजार १ रुपैंया संघलाई प्रदान गरेको हो । उक्त सहयोग आइतबार बस्तुगत समितिका अध्यक्ष अलिम दिन सहितको टोलीले बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई हस्तान्तरण गरेको हो ।
आम्दा अस्पतालमा सञ्चालन गर्न लागिएको आईसीयु भेन्टिलेटर सहितको सय शैयाको कोभिड उपचार केन्द्रमा बुटवल उद्योग बाणिज्य संघले ५ आईसीयु बेड र ५ वटा प्यासेन्ट मोनिटर प्रदान गरेको थियो । आईसीयु बेड र प्यासेन्ट मोनिटर १०÷१० थान दिने भनेपनि भेन्टिलेटर बिना आईसीयु सेवा प्रभावकारी नहुने भएपनि आम्दाकै आग्रहमा थप दिनुपर्ने ५ थान आईसीयु बेड र ५ थान प्यासेन्ट मोनिटरको साटो भेन्टिलेटर दिने सहमति भएको अध्यक्ष कसजुले बताउनु भयो ।
उहाँका अनुसार सोमबारसम्म आईसीयु तथा भेन्टिलेटर उपकरणहरु जडान भईसक्ने र पर्सी मंगलबारदेखि उपचार सेवा सुरु हुनेछ । संघले आम्दामा प्रदान गर्न लागिएको आईसीयु तथा भेन्टिलेटरमा करिव ४० लाख रुपैंया खर्च हुने जानकारी गराउँदै अध्यक्ष कसजूले त्यसको लागि बिभिन्न वस्तुगत समिति तथा उद्योगी व्यवसायीहरुले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कोरोना महामारीका कारण धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको र उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नपाओस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष अलिम दिनले बताउनु भयो । कोरोना भाइरस संक्रमणकै कारण उक्त बस्तुगत समितिका कार्यसमिति सदस्य देउराली कस्मेटीकका सञ्चालक महेन्द्र पौडेलको ज्यान गएको थियो भने धेरै व्यबसायी संक्रमित भएका थिए ।
त्यस अवसरमा संघका अध्यक्ष कसजू र बस्तुगत समितिका अध्यक्ष अलिम दिनले दिवंगत महेन्द्र पौडेलप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुको साथै सक्रमित भएकाहरुको सिघ्र स्वास्थ्यलाभको समेत कामना गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्