इमेज टेलिभिजनमा उकाली–ओराली कार्यक्रमकी प्रस्तोता अर्थात् सञ्चारकर्मी रूपा सुनार अलिक राम्रो कोठा खोज्दै काठमाडौं महानगरपालिका –११ बबरमलस्थित सरस्वती प्रधानको घर पुगिन् ।
रुपा र सरस्वतीबीच कोठाको विषयमा राम्रै कुरा भयो । भाडाको टुंगो पनि भयो । राम्रो कोठा पाए भनेर रुपा पनि मख्ख थिइन् । कोठामा धेरै मान्छे ल्याउन नपाउने, हल्लाखल्ला गर्न नपाउने शर्त सरस्वती प्रधानको थियो ।
त्यति मात्रै होइन, ‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई । एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ । बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन । सबै जना मिलेर बस्नुपर्छ’ भन्ने शर्त पनि मानेकी थिइन् ।
रुपाले पनि आफू पद्ने र काम गर्ने भएकाले त्यसरी मान्छे भेला पार्ने र हल्लाखल्ला गर्ने फुर्सद नहुने बताउँदा सरस्वती पनि खुसी भइन् र रुपा पनि राम्रै भयो भनरे खुसी भइन् ।
सबै कुरा मिलेपछि जातको प्रश्न उठ्यो । सरस्वतीले के थरको हो भनेर सोधिन् । रुपाले सजिलै ‘कामीकी छोरी हुँ’ भनिन् । त्यसपछि सरस्वती टोलाउन थालिन् । सबै कुरा फाइनल भए पनि कुरा जातमा अड्कियो । अनि तत्काल कोठा फाइनल हुन सकेन । भरे फोन गर्ने गरी टुंगियो ।
रुपा भारी मन बनाएर आफ्नो कोठातिर फर्किइन् । उनले त्यही बेला मन दुखाएकी थिइन् । तर सँगै गएका साथीहरुको मन नदुखोस् भनेर केही प्रतिकार नगरी फर्किइन् । तर उनले केही नभएजस्तो गरिन् ।
मन थाम्नै सकिनन् । मंगलबार नै सामाजिक सञ्जालमा आफूले भोगेको भोगाई भन्दै भिडियो पोस्ट गरिन् । विभिन्न प्रतिक्रियाहरु आए ।
बुधबार बिहान सरस्वतीलाई रुपाले फोन गरिन् । फोनमा जवाफ आयो, ‘हामी कोठा दिन सक्दैनौं । नानी हाम्रोमा गाह्रो छ । आमा हुनुहुन्छ । बरु अरु नै जातको मान्छे छन् भने चाँही पठाइदेउ है ।’
त्यसपछि सुनारले आफ्नो मनमा कुरा गुम्स्याँएर राख्न सकिनन् । र पुगिन् कानुनी परामर्शतिर । तर, उनको खुसी केहीबेर पनि टिकेन । कानुन व्यवसायी र दलित समुदायका सञ्चारकर्मीहरुसँगको परामर्शपछि उनले बिहीबार महानगरीय बृत्त सिंहदरवारमा उजुरी दर्ता गर्ने तयारी गरेकी छन् ।
‘काठमाडौं जस्तो ठाउँमा बसेर पनि यसरी छुवाछूत भोग्दा सहेर बस्नु राम्रो होइन भनेर कानुनी कारबाहीको प्रक्रियामा जान लागेकही हुँ’ उनले निशान न्युजसँग भनिन्, ‘यसरी नै सहँदै जाने हो भने दलितको मुक्ति कहिले सम्भव हुँदैन ।’
उनीमाथि जातीय भेदभाव भएपछि राष्ट्रिय दलित पत्रकार संघ लगायतका विभिन्न संघ संस्थाहरुले भ्रत्सना गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्