-अनिल शर्मा ‘विरहि’
२०२८ सालतिर तत्कालिन पुष्पलाल समूहका केन्द्रीय सदस्यहरू नारायणमान विजुक्छे ‘रोहित’, रुपलाल विश्वकर्मा र ध्रुव ढकाल ‘मिश्र’ले पुष्पलालसँग सम्बन्ध विच्छेद गरी ‘किसान संघर्ष समिति’ गठन गरेका थिए । उनीहरुले नेपालमा कम्युनिस्ट पार्टी निर्माणको भौतिक आधार नै नबनेको, त्यसका लागि भौतिक र वैचारिक रुपले सर्वहारा वर्गका प्रतिनिधिहरु आवश्यक पर्ने र वर्ग संघर्षकै क्रममा त्यसप्रकारको भौतिक आधार परिपक्व हुने उनीहरुको धारणा थियो । त्यसैले किसान संघर्ष समितिलाई उनीहरुले कम्युनिस्ट निर्माणको प्रक्रिया अथवा भरुणको रुपमा लिएका थिए । एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुने धारणा उनीहरुको थियो । त्यसप्रकारको गम्भीर चिन्तनसहित रोहितले बाग्मती अञ्चल, ध्रुव ढकालले जनकपुर र रुपलालले नारायणी अञ्चलको नेतृत्व गर्दै वर्ग संघर्ष मुलतः किसान संघर्षमा होमिए ।
मध्य तराई, बाग्मती उपत्यका र नारायणी अञ्चलमा किसान संघर्षहरू चर्केर गयो । त्यसै क्रममा २०३४ असार ६ गते चितवनको कविलास गाउँ पञ्चायत अन्तर्गत जुगेडी बजारका दुई सामन्तको सम्पति कब्जा गर्ने निर्णय भयो । जंगलमा गिठ्ठा र भ्याकुर जस्ता कन्दमुल समेत सकिएर चेपाङ, दलित जातिका जनता भोक–भोकै मर्न लागेका थिए । ‘भोकले होइन, लडेर मर्ने’ नारा संगठनले दियो । अन्न, कपडा, नुनतेल, खोसेर फर्केर जनता सिमलताल्मा सामान बाँडफाँड गर्न लागेका बेला रामनगरबाट पिछा गर्दै आएको प्रहरीले गोली चलाउँदा दशरथ चेपाङ र सन्तबहादुर चेपाङ घटना स्थलमै मारिए । नन्दबहादुर चेपाङ यातनाका कारण भरतपुर जेलमा मारिएका थिए ।
गोपाल प्रजा, रुद्रबहादुर प्रजा, पुर्णबहादुर विश्वकर्मा, टेष्टबहादुर गुरुङ, पदमबहादुर गुरुङ, लक्ष्मण बहादुर गुरुङ र पुर्णलाल विश्वकर्मा लामो समय भरतपुर र विरगन्ज जेलमा बन्दी बनाइए । धरपकड, धम्की, विस्थापन र भूमिगत हुन बाध्य परेकाहरुको लेखा नै रहेन । सो संघर्षको नेतृत्व रुपलाल विश्वकर्माले गरेका थिए भने सो भेगका जननेता आशाखोले माइला ‘सुन्दर’ थिए । नेपालमा सबै भन्दा तल्लो तहको जाती जो आजसम्म पनि जङ्गलमै प्रकृतिसंग मिलेर बसेको छ । लोपउन्मुख जातीका रुपमा रहेको छ । चार दशक अगाडिनै उनीहरु विद्रोहमा उत्रनु सामान्य थिएन । सो विद्रोहमा अर्को सहभागिता दलित, महिला र गुरुङ जातिको रहेको थियो । त्यो अर्को विशिष्ट पक्ष हो । दिर्घकालीन जनयुद्ध, किसान विद्रोह, आधार इलाकाका प्रश्नहरू सहित भारत–नेपाल–चिन करिडोर निर्माण गर्ने उद्देश्यसहित आन्दोलन उठाउने प्रत्यत्न भएको थियो । किसान संघर्षलाई सशस्त्र किसान विद्रोहमा विकास गर्दै दिर्घकालिन जनयुद्धको बाटोमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यसहित सो जुगेडी संघर्ष भएको थियो । सबै भन्दा तल्लो वर्गद्वारा सबै भन्दा अग्रगामी विचार र बलिदान नै जुगेडी संहर्षको ऐतिहासिकता र महानता हो ।
जुगेडी संघर्षमा घरेलु हतियार प्रयोग गरीएको थियो । आग्न्यास्त्र प्रयोग तत्काल नगर्ने निर्णय गरीएको थियो । क्रान्तिमा बल प्रयोगको सिद्धन्तलाई आत्मसाथ गरेका थिए । जुगेडी संघर्ष पछि त्यस क्षेत्रमा व्यापक दमन भयो । त्यसलाई प्रतिरोध गर्नका लागि फौजी रणनिति र संयुक्त मोर्चाको विकास गर्न सकेनन् । दिर्घकालीन जनयुद्ध, आधार इलाका जस्ता प्रश्नमा पनि थुप्रै अन्योलताहरू थिए । मुलतः वैचारिक समस्याकै कारण त्यो विद्रोह अपेक्षित विकास गर्न सकेनन् । २०४८ सालमा भएको तत्कालीन नेकपा (एकता केन्द्र)को माडी, चितवनमा सम्पन्न एकता महाधिवेशनले जुगेडी किसान संघर्ष भएको दिनलाई ‘किसान दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्