नेकपा बागमती गाउँ समितिद्वारा अवैध मल बरामद

किसानहरुलाई निशुल्क वितरण 

नेकपा बागमती गाउँ समितिद्वारा अवैध मल बरामद

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर बागमती गाउँ समितिले कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल बरामद गरी किसानहरुलाई वितरण गरेको छ ।

बागमती गाउँपालीका वडा नम्बर, २ स्थित राईगाउँ बजारका मल तस्कर छबि भोम्जनलाई नियन्त्रणमा लिई कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल नेकपा बागमती गाउँ समीतिले बरामद गरेको छ । बरामद गरेको मल नेकपा बागमती गाउँ समितिको रोहबरमा त्यहाँका किसानहरुलाई वितरण गरेको छ । 

‘विगत लामो समयदेखि उक्त क्षेत्रमा मल तस्करहरुले सर्लाहीको लालबन्दी, मलंगवालगायतको ठाउँबाट चोरी निकासी गरि सिन्धुली हुँदै मकवानपुरको राईगाउँ भित्र्याउने गरेको पाइएको छ । अवैध रुपमा ल्याएका उक्त मल मकवानपुरको बागमती गाउँपालिका अन्तर्गत फापरबारी, राईगाउँ र सिन्धुलीको हरिहरपुर गाउँपालिकाको किसानहरुलाई बोराको २ हजार देखि २५ सय सम्ममा बेच्दै आएका कुरा खुलासा भएको छ । अहिले आम नेपाली जनता बाढीपहिरो र कोरोना संक्रमणको चपेटामा परेको कुरा सर्विदितै छ । यो समयमा न कतै रोजगार गर्न पाएको छ न त राम्रोसँग खेतीपाती गर्न नै । समस्या दिनप्रतिदिन थपिँदै गइरहेको छ । यस घडीमा जनताको आवश्यकतालाई सर्वसुलभ ढङ्गले कसरी पूर्ति गर्ने भन्ने विषयमा न व्यापारीको ध्यानाकर्षण भएको छ न त सरकारको नै । खाली यहाँ यस्तै कठिन परिस्थितिको मौका पारेर लुट्न खोज्ने काम मात्रै भइरहेको छ । यही मौकामा कालो बजारी गरी जनता लुट्न खोज्नेहरु अन्तर्गत बागमती गाउँपालिकाका केही दलालहरु पनि परेका छन् । जसको छानबिन गरी नेकपा बागमती समितिले पर्दाफास गरेको छ र अवैध मलखाद बरामद गरी किसानलाई बुझाएको छ ।’ नेकपा बागमती गाउँपालिका इन्चार्ज बिक्रमले भने ।

अवैध रूपमा तस्कर गरि ल्याएको मल चर्को मुल्यमा किन्न बाध्य भएका किसानहरुको गुनासोका आधारमा नेकपा बागमती समितिले अनुसन्धान गर्दै जाँदा सत्य साबित भएकाले उक्त अवैध मल जफत गरि किसानहरुलाई निशुल्क वितरण गरिएको इन्चार्ज बिक्रमले बताए । उनले आगामी दिनमा यस्ता खाले गैरकानुनी कामधन्दा नगर्न, नगराउन चेतावनी समेत दिएका छन् ।