युवा सङ्गठनद्वारा सापकोटा दम्पतीलाई घर हस्तान्तरण

बुटवल । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीले बुटवलको रानीगन्जस्थित तिनाउ किनारामा रहेको गोपिलाल सापकोटा र मायादेवी सापकोटाको घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरेको छ । 

कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले जनताको दुःखमा राज्यको अनुपस्थितिका कारण जनतालाई केन्द्रमा राखेर  ८३ वर्षीय गोपिलाल सापकोटा र ७४ वर्षीय मायादेवी सापकोटाको घर निर्माण गरेको बताए । उनले कोरोना महामारीलाई मध्यनजर गर्दै जनताको हरेक समस्यामा नेकपा अग्रमोर्चा भागमा रहेर निरन्तर जनसेवामा जुटिरहेको बताए ।

सेक्रेटरी विश्वासले सापकोट दम्पतीको घर निर्माणपछि जनताले कोही नभएको अवस्थामा पनि नेपाल कम्युनिस्ट पार्टी साथमा छ, भन्ने अनुभूति गरेको बताए । उनले राज्य यो महामारीको बेला जनताप्रति उत्तरदायी भएर जनताको सेवामा लाग्नुको साटो  सत्ता जोगाउन र प्राकृतिक स्रोत, साधन दोहन गर्ने कार्यमा व्यस्त रहेको बताए । उनले भने, ‘वर्तमान दलाल संसदीय व्यवस्थाबाट सुकुम्बासी, किसान, मजदुरको मुक्ति सम्भव छैन । यी सम्पूर्ण समस्याको समाधानको निम्ति र वर्तमान नेपाली राजनितीमा देखिएको सङ्कटको निकासका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न जरुरी छ ।’ जसको लागि नेकपाले अघि सारेको व्यवस्था फैसला गर्नुपर्ने चुनाव जनमत सङ्ग्रहमा जानुपर्ने उनले बताए ।

युवा सङ्गठन नेपाल रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले युवा सङ्गठन नेपालको केन्द्रीय योजना अन्तर्गत रूपन्देही जिल्ला समितिले घर निर्माण गरेको बताए । उनले आवास निर्माणमा सहयोग गर्नुहुने नेकपाका सबै जवस मोर्चाका नेता–कार्यकर्ता र स्थानीयहरूलाई धन्यवाद प्रकट गरे । 

आमा मायादेवी सापकोटाले आवास निर्माणको लागि नेकपाप्रति धन्यवाद प्रकट गर्दै जनताको सेवामा निरन्तर खट्न सुझाव दिइन् । उनले नेकपाले गरेको सहयोग कहिल्यै नबिर्सने बताइन् ।

कार्यक्रममा नेकपाका सचिवालय सदस्यहरू नवीन, श्याम,  अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगर, नेकपा रानीगन्ज एरिया इन्चार्ज सरिता बराह, दलित मुक्ति मोर्चा, रूपन्देही जिल्ला अध्यक्ष जानुका बराह, अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर, अखिल नेपाल जनसांस्कृतिक महासंघका रूपन्देही जिल्ला अध्यक्ष बिहानी मगरलगायत नेता–कार्यकर्ता तथा ठूलो मात्रामा स्थानीयहरूको उपस्थिति रहेको थियो । 

सङ्गठनका रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष पारस राहादी मगरले गरेका थिए ।