अर्घाखाँची । नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जातीय विभेद विरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौंमा कोठा खोज्ने क्रममा दलित युवतीमाथि जातीय विभेद भएको र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विभेद गर्नेलाई कारबाही गर्नुको साटो प्रहरी चौकीबाट छुटाएर प्रसय दिएको भन्दै क्रान्तिकारीले शनिबार विरोध प्रर्दशन गरेको हो ।
क्रान्तिकारीले विभेदमा परेकी रुपा सुनारले प्रहरीमा जाहेरी दिएपछि दोषीलाई कारबाही गर्नुको साटो प्रहरी अनुसन्धानमा रहेकी घरबेटी सरस्वती प्रधानलाई शिक्षामन्त्री श्रेष्ठको निर्देशनमा छोडिएको भन्दै आपत्ति जनाएको छ ।
प्रदर्शनका क्रममा सङ्गठनका अर्घाखाँची जिल्ला इन्चार्ज नवीन खड्काले शिक्षमन्त्री श्रेष्ठले सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै राजीनामा दिनुपर्ने बताए । उनले सबै प्रकारका समस्याको समाधानको निम्ति आफूहरू एकिकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटोमा निरन्तर लागिरहेको बताए ।
सङ्गठनका अर्घाखाँचीका जिल्ला अध्यक्ष बाबुराम नेपालीले अहिलेको संसदीय व्यवस्थाबाट जातीय विभेद अन्त्य नहुने भन्दै सबै प्रकारका उत्पीडन र विभेदकारी समस्याको समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए ।
प्रतिक्रिया राख्नुहोस्