बुटवल । नेकपा रूपन्देहीले सहिद तथा बेपत्ता परिवारको खेतमा गएर जनश्रम गरेको छ । जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा रूपन्देहीको बासगढीस्थित सहिद तथा बेपत्ता परिवार तुलसा पाण्डेको खेतमा गएर धान रोपाइ गरेको हो ।
धान रोपाइ कार्यक्रममा जिल्लास्थित नेकपाका नेता तथा कार्यकर्ता, स्थानीय जनता एवं शुभचिन्तकहरुको समेत सहभागिता रहेको थियो । पार्टीको जिल्ला योजना अन्तर्गत सहिद तथा बेपत्ता योद्धाहरुको परिवारको खेतमा गएर नेकपाले धान रोपेको हो ।
“कोरोना महामारी र बन्दाबन्दीको समयमा जिल्लाको योजना अन्तर्गत सहिद तथा बेपत्ता परिवारको खेतमा गएर धान रोपिएको हो” जिल्ला सेक्रेटरी विश्वासले जनवाटो अनलाइनलाई बताए । उनले भने, “पार्टीको केन्द्रीय नीति अनुसार जनसेवा, उत्पादन कार्य, राजनीतिक कार्य र जनताको हितमा सङ्घर्षलाई सँगसँगै लैजाने उद्देश्य अनुसार हामीले जिल्लामा यसको कार्यान्वयन गरिरहेका छौं ।” यसलाई जिल्लामा थप विस्तार गरिने समेत सेक्रेटरी विश्वासले बताए ।
जनयुद्धको क्रममा तुलसा पाण्डेको दुई छोराहरुमध्ये दुर्गा पाण्डेको सहादत र युवराज पाण्डे बेपत्ता भएका थिए । नेकपा रूपन्देहीले सहिद तथा बेपत्ता परिवारहरुका लागी विभिन्न जनसेवामूलक कार्यक्रमहरु गरेर सम्मान गर्दै आएको छ ।
नेकपाले प्रतिबन्धको बावजुद पनि निरन्तर उत्पादनलाई जोड दिदै आएको थियो । गत बर्ष फागुन २१ गते सरकार र नेकपाबीच ३ बुँदे सहमति भएपछि सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवा भएपछि नेकपाले देशका सबै जिल्लाहरुमा उत्पादन तथा जनश्रमलाई जोड दिदै आएको छ । अहिले पछिल्लो पटक कोरोनाको महामारी र बन्दाबन्दीको अवधिमा समेत जनसेवाका निरन्तर क्रियाशील रहँदै आएको छ ।
केही दिन अगाडी नेकपा रूपन्देहीले बुटवल तिनाउ किनारस्थित रानीगञ्जमा रहेको गोबीलाल सापकोटा र मायादेवी सापकोटाको घर निर्माण हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्