गणेश एसके । कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जिल्ला पार्टी सम्पर्क कार्यालय उद्घाटन तथा २० औं पूर्ण बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कमिटीको बैठक अनुसार सबै जिल्लामा जनसम्पर्क कार्यालय स्थापना गर्ने नीतिअनुसार नेकपा कञ्चनपुरले आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पार्टी कार्यालय उद्घाटन गरेको हो ।
साथै २० औं पूर्ण बैठकले जनजीविका, जनजन्त्र, राष्ट्र, राष्ट्रियता र आम जनमानससँग जोडिएका विषयमा गरेका महत्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ओम प्रकाश पुनले पत्रकार सम्मेलनमा अहिलेको परिस्थितिमा तीन बुँदे सहमतिबाट सरकार पन्छिएको बताए । उनले भने, ‘हाम्रो पार्टीको नीति भनेको वैज्ञानिक समाजवाद हो । हाम्रो पार्टी यही संसदीय व्यवस्थामा जाने कुरा बिल्कुल गलत हो । बरु संयुक्त प्रगतिशील सरकार मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पार्टीले जनतसङ्ग्रहमा जानुपर्ने एजेण्डा उठाएको छ । जनताले जनमत सङ्ग्रहमार्फत् व्यवस्था चुन्ने अधिकार पाउनुपर्छ । ’
अहिले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार ब्युरो तह खारेज भएको, केन्द्र र जिल्ला तहअनुसार नै पार्टीका सम्पूर्ण गतिविधि अगाडि बढेको पनि उनले बताए । उनले भ्रष्टाचार, घुसखोरी र दलालका विरुद्ध निर्मम तरिकाले संघर्ष गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ओम प्रकाश पुन, रमेश परियारलगायत नेता–कार्यकर्ता र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्