बेपत्ता योद्धा ज्योतीको १९ औं खोज सभा सम्पन्न 

पोखरा । राज्यको सशस्त्र फोर्सले बिरामी अवस्थामा रहेका आफन्तको उपचारमा जाँदा राज्यद्वारा गिरफ्तार गरी बेपत्ता बनाइएका सोम बहादुर विक ‘ज्योति’ को १९ औं खोज सभा सम्पन्न भएको छ । 

पोखरा महानगरपालिका ३२ खुदीखोलास्थित उहाँकै निवास नजिक नेपाल कम्युनिस्ट पार्टी कास्कीले एक कार्यक्रम आयोजना गरी बेपत्ता योद्धा परिवारजनसहित खोज सभा सम्पन्न गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पूर्णजित पुनको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रम नेकपा कास्की जिल्ला सदस्य काजी गुरुङ्गले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, सहिद विजयराज बास्तोलाका पुत्र प्रकाश बास्तोला, माओवादी केन्द्रका वडा अध्यक्ष अर्जुन मल्ललगायत नेकपाका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा बेपत्ता योद्धा सोम बहादुर विककी बहिनी सोम माया विकले ज्योतिको जिवनी प्रस्तुत गर्नुभएको थियो भने उपस्थित अतिथि, प्रमुख अतिथिलगायत वत्ताहरुले महान जनयुद्धका सहिद बेपत्ता योद्दाहरुले देखेको सपना पुरा नभएको, नेपालको राजनीतिक परिस्थिति झनै जटिल बन्दै गएको र प्रतिक्रान्तिको चपेटामा फस्ने देखिएको हुँदा सहिद बेपत्ताको सपना पुरा गर्न सम्पूर्ण जनसमुदाय र कम्युनिस्टहरु जनयुद्धको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै ध्रुवीकरण हुँदै जानुपर्नेमा जोड दिनुभएको थियो ।

राज्यले तत्कालिन समयमा सोम बहादुर विकलाई २०५९ असार २३ गते बेपत्ता बनाएको थियो ।  उहाँ राजनितिक रुपमा २०५६ देखि नेकपा (माओवादी) मा संगठित भएर सकृयताका साथ सुकुमबासी लगायतका जनवर्गको संगठनात्मक तथा संघर्षका काममा सहभागी हुँदै आउनुभएको थियो । पार्टीको इलाकास्तरको जिम्मेवारीमा रहेर काम गर्दै गर्दा  पोखराको गण्डकी हस्पिटलबाट राज्यले गिरफ्तार गरी बेपत्ता बनाएको हो ।

सोमबहादुर बिश्वकर्मा ‘ज्योति’का बुबा मनबहादुर विश्वकर्मा र आमा ओमकुमारी विश्वकर्माको कोखबाट  मिति २०३२ बैशाख २८ गते  साविक लेखनाथ न.पा. १३  हाल पोखरा महानगरपालिका–३२ खुदिखोला कास्कीमा जन्मनु भएको हो ।