शैक्षिक विकृतिका विरुद्ध अर्घाखाँचीमा विरोध प्रदर्शन

अर्घाखाँची । नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाचीले शान्ति बगैंचामा शैक्षिक विकृतिका विरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षाको निजीकरण र चरम व्यापारीकरण, त्रिविले बढाएको शुल्क, अनलाइन शिक्षामा व्यापार लगायत सबै शैक्षिक विकृतिका विरुद्ध क्रान्तिकारीले उक्त विरोध प्रदर्शन गरेको सङ्गठनका जिल्ला सचिव गिरिजा खड्काले जानकारी दिए ।

कार्यक्रममा नेकपा सन्धिखर्क र भूमिकास्थान नगरपालिका इन्चार्ज तथा अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज नविन खड्काले संविधानमा आधारभूत तहसम्म निःशुल्क, अनिवार्य र मावि तहसम्म निःशुल्क भनेता पनि कार्यान्वयन नभएको बताए । उनले अर्घाखाँचीका केही विद्यालयहरूले निषेधाज्ञामा समेत विद्यार्थीबाट शुल्क असुल गरेको बताए । 

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बाबुराम एसकेले शैक्षिक माफिया र दलालहरू विरुद्ध आफूहरू कडा सङ्घर्षमा उत्रिने बताए । उनले वर्तमान दलाली, अव्यवहारिक शिक्षाको अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षा स्थापना गर्नुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीले गरेका थिए ।