जातीय विभेद विरुद्ध कञ्चनपुरमा विरोध प्रदर्शन 

एसके । कञ्चनपुर । जातीय भेदभाव तथा विभेदको विरुद्धमा नेकपा निकट अखिल (क्रान्तिकारी) ले कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको नीतिअनुसार विगत लामो समयदेखि रहेको जात व्यवस्था, वर्तमान समयमा रुपा सुनारको प्रकरणदेखि देशै भरी विभिन्न स्थानमा जातीयताको कारण भएका विविध विकृति र विसंगतिका विरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समितिले पनि आइतबार जातीय विभेदको अन्त्यको माग गर्दै प्रदर्शन गरेको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का सेती–महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले उक्त कार्यक्रममा बोल्दै जातीय विभेदको पक्षपोषण गर्नेमा राज्य नै लागि परेको र आजको यो आधुनिक युगमा पनि यस्तो अमानविय घृणित कार्य गर्नेलाई कारबाही गर्न यो राज्य व्यवस्थाका परिचालक नै गैरजिम्मेवार रहेको जिकिर गरे । उनले वर्षौंदेखि नै जगडिएको जात व्यवस्था शिक्षित भनिने व्यक्ति, राजनीतिज्ञ र विभिन्न कथित उप्पलो जातिका व्यक्तिहरूले नै कायम गर्न खोजेको बताए ।

संविधानका पानाहरूमा मात्रै हक अधिकारको व्याख्या गरेर मात्रै नहुने भन्दै शाहले व्यवस्था नै बदल्नु पर्ने बताए । उनले समाजमा यसको विरुद्धमा नयाँ साँस्कृतिक क्रान्तिको आवस्यकता रहेको बताए । सबै वर्गीय उत्पीडनको अन्त्य वैज्ञानिक समाजवादमा हुने भन्दै शाहले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । 

उक्त विरोध प्रदर्शन कार्यक्रममा अखिल  (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष ललित एसके लगायत जिल्लाका सबै सदस्य सहभागी थिए ।