विप्लव र देउवाबीच बालुवाटारमा भेटवार्ता

आगामी दिनमा समग्र राजनीतिको बारेमा छलफल गर्ने सहमति

विप्लव र देउवाबीच बालुवाटारमा भेटवार्ता

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।  बुधबार भएको भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, गृहमन्त्री बालकृष्ण खाँणको पनि सहभागी रहेको बताइएको छ । 

भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमतिको स्वामित्व वर्तमान सरकारले लिनुपर्ने बताएका थिए । उनले ३ बुँदे सहमति कार्यान्वयन गर्दै बन्दीहरुलाई तत्काल रिहा गर्नु पर्ने बताए । महासचिव विप्लवले बन्दीहरु रिहा गर्न राजनीतिक, संवैधानिक र कानुनी जटिलता भए तत्काल ती समस्याको हल गरि बन्दीहरुलाई रिहाई गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आईसकेको बताउदै बन्दी रिहा गर्न कुनै आपत्ति नभएको भन्दै दलहरुसँग बैठक र परामर्श गरेर यस्ता समस्याको समाधान गर्ने बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको यो भेटवार्ता सौहार्द सकारात्मक र उपलब्धिमूलक भएको र आगामी दिनमा समग्र राजनीतिको बारेमा छलफल गर्ने सहमति समेत भएको बताइएको छ ।