गणेश एसके । कञ्चनपुर । नेकपा निकट अखिल (क्रान्तिकारी) ले कञ्चनपुरको ब्रह्मदेवमा सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धि सम्झौताका विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।
सङ्गठनको केन्द्रीय कार्यक्रम अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी साम्राज्यवाद, बदलिदो राजनीतिक संकट, शैक्षिक क्षेत्रमा देखिएको विकृतिका विरुद्ध, सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको बताइएको छ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्युरो संयोजक तथा उक्त कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्र शाहले सम्बोधन गर्दै वर्तमान विगतदेखि सत्तामा बस्ने शासकहरुले देशमा विभिन्न किसिमका देशको सार्वभौमीकता, राष्ट्रियता, स्वतन्त्रतालाई नै ओझेलमा पर्ने गरी देशलाई संकटमा पर्ने गरी समस्या निम्त्याएको बताए । उनले विगतमा भएका असमान सन्धि सम्झौता, बढ्दो विदेशी चलखेल र त्यसले देशमा ल्याएको अस्थिर राजनीतिक संकट नेताहरुको मात्र नभई सिंगो राज्य व्यवस्थाको नै असफल अभ्यास भएको बताए । शाहले अहिलेको आवश्यकता भनेको दलाल संसदीय व्यवस्था अन्त्य गरी जनताको वैज्ञानिक समाजवाद स्थापना गर्नु भएको बताए । जुन समाजवादी व्यवस्थामा सबै किसिमका उत्पीडन, विभेद, असमानता , वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण, असमान सन्धि सम्झौता लगायत सम्पूर्ण समस्याको अग्रगामी हल भएको हुने बताए । तसर्थ यो व्यवस्था बदल्नु बाहेक अरु विकल्प नभएको उनले बताए ।
उक्त कार्यक्रममा गएका अभियानकर्मीहरुले सीमा नजिक अनुगमन गर्न जाँदा अप्ठ्यारो हुन्छ, जान मिल्दैन भन्दै नेपाल प्रहरीले ठाडो हस्तक्षेप गरेको स्रोतले बताएको छ ।
कार्यक्रममा ग्रेटर नेपालका केन्द्रीय उपाध्यक्ष तथा सुदुर पश्चिम संयोजक गजेन्द्र पाण्डे, त्रीमुल पार्टी नेपालका सुप संयोजक सुबास धामी, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश जप्रेल, सुप इन्चार्ज नरेन्द्र भाट लगायतले राष्ट्र र राष्ट्रियताको विषयमा मन्तव्य राखेका थिए ।
कार्यक्रम अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला अध्यक्ष ललित एसकेले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्