अखिल (क्रान्तिकारी) द्वारा नवलपुरमा विरोध प्रदर्शन

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले जिल्लाको देवचुली नगरपालिकामा राष्ट्रियताको बिषयमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

सङ्गठनले देशव्यापी कार्यक्रम गरिरहेको सन्दर्भमा उक्त सङ्गठनले सोमबार नवलपुरमा राष्ट्रियताको विषयमा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको सङ्गठनका जिल्ला अध्यक्ष श्रीराम बस्यालले जानकारी दिए । 

कार्यक्रममा सङ्गठनका जिल्ला स्तरीय विद्यार्थी नेताकार्यकर्तादेखि स्थानीय विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो !, सिमा सुरक्षा कायम गर !, एमसिसि खारेज गर् ! लगायतका पम्पलेट प्रदर्शन गरेर कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा जिल्लामा निरन्तर विद्यार्थी हराउनु र मृत फेला पर्नुले अहिलेको सरकारमा जो आएपनि आम विद्यार्थी तथा नागरिकको सुरक्षा हुन नसकेकाले राज्य नागरिकप्रति गैरजिम्मेवार रहेको भन्दै विद्यार्थीलाई सजग रहन समेत आह्वान गरिएको थियोे ।

कोणसभामा बोल्ने वक्ताहरुले व्यवस्था बदल्ने अभियानमा आम विद्यार्थीलाई सङ्गठित हुन र एकीकृत जनक्रान्तिको बाटोमा अग्रसर हुँदै वैज्ञानिक समाजवादका लागि जनमत सिर्जना गर्न जोड दिइएको बताइएको छ ।