वर्तमान विश्व व्यवस्थाको सङ्कट र समाधान

संसारका श्रमिकहरु नयाँ अभियानमा लामवन्दी हुनु आजको आवश्यकता

वर्तमान विश्व व्यवस्थाको सङ्कट र समाधान


सञ्जीव 

१–भूमिका
आज विश्वव्यापी रुपमा संसदीय पुँजीवादी विश्व व्यवस्था चलिरहेको छ । यो व्यवस्थालाई पुँजीवादी थिङ ट्याङ्कहरुले अति उत्कृष्ट र सफल विश्व व्यवस्थाको हवाला दिदै यसको रक्षा र थप सुदृढीकरण गर्दै जानुपर्ने कुरा वताइरहेका छन् । पुँजीवादी विश्व व्यवस्था अन्तर्गत संसारका केही राष्ट्रहरु अतिविकसित भएका कारण उनीहरुले साम्राज्यवादी रुपधारण गर्न पुगेका छन् भने केही राष्ट्रहरु विकासका विभिन्न चरणहरुमा रहेका छन् । यसरी हेर्दा आज पुँजीवादी विश्व व्यवस्था अन्तर्गत तीन प्रकारका राष्ट्रहरु रहेका छन–अति विकसित, विकसित र अल्पविकसित । यी तिनै प्रकारका राष्ट्रहरुको समान प्रकारको चरित्र भनेको लुट, शोषण र जनतामाथि दमन र अन्याय थोपर्नु रहेको छ । खाली यति कुरामात्र फरक छ कि अति विकसित राष्ट्रहरु आफनो राज्यसत्ताको रक्षा र मुनाफाका लागी एक आपसमा प्रतिस्पर्धा गर्दै विकसित र अल्पविकसित राष्ट्रहरुलाई नवउपनिवेश वनाउन पुग्छन् भने विकसित र अल्पविकसित राष्ट्रहरुले आफनो राज्यसत्ताको रक्षा र मुनाफाका लागी साम्राज्यवादी राष्ट्रहरुको दलाली गर्न पुग्दछन् र राष्ट्र एवम् जनतालाई सौदावाजी गर्न पुग्दछन् । जहाँका राष्ट्र प्रमुख र जनताले साम्राज्यवादी राष्ट्रको दलाली गर्न अस्वीकार गर्दै राष्ट्रिय स्वाधिनता आत्मनिर्भरताको  पक्षमा वकालत गर्दछन् ती राष्ट्रहरु माथि साम्राज्यवादी राष्ट्रहरुले विभिन्न वहानामा विध्वंसकारी फौजी हमला गरी राष्ट्रलाई नै ध्वस्त वनाउने, राज्यसत्ताका अन्तर्गत सरकार प्रमुख तथा सञ्चालकहरुलाई हत्या गर्ने, अपदस्त गर्ने र आफु अनुकूलका दलालहरुलाई सरकार प्रमुखमा  नियुक्त गर्ने गर्दछन् ।

२–पुँजीवादी विश्व व्यवस्थाको सङ्कट, त्यसको चरित्र र विशेषता 
आजको दुनियाँमा पुँजीवादी विश्व व्यवस्था आफनै विश्व दृष्टिकोण र त्यसद्धारा निर्देशित चरित्र र विशेषताका कारण चौतर्फी सङ्कट तर्फ वढिरहेको छ । इतिहासका निर्माता जनतालाई आधुनिक दासको व्यवहार गर्ने, जनताका आधारभुत आवश्यकता र मागहरुमा निरङ्कुश चरित्र प्रदर्शन गर्ने, आफनो मुनाफाका लागी जनतालाई शोषण र उत्पीडन गर्ने, भ्रष्टाचार र कमिशनको खेलमा लिप्त हुने तथा सत्ता र स्वार्थका लागी हदैसम्मको घृणास्पद काम गर्न पनि पछि नपर्ने चरित्र र विशेषताका कारण विश्वमा रहेका तीनै प्रकारका राष्ट्रहरुमा सङ्कटले गहिरो रुप लिदै गईरहेको छ । फलतः आज विश्वव्यापी रुपमा व्यापक जनअसन्टुष्टी वढिरहेको छ । पछिल्ला दिनहरुमा यूरोप, अमेरिका, एशिया तथा अफ्रिकी मुलुकहरुमा भइरहेका हिँसात्मक जनप्रदर्शनहरुले पुँजीवादी विश्व व्यवस्थाको सङ्कटलाई व्यक्त गरिरहेका छन् । आजको दुनियाँमा लुट खसोटमा टिकेको पुँजीवादी विश्व व्यवस्था निम्न चरित्र र विशेषतामा व्यक्त भइरहेको छ :–
(क) सामाजिक क्षेत्रमा ठूलो असमानता
वर्तमान पुँजीवादी विश्व व्यवस्थामा मानव–मानवका बीचमा भयङ्कर असमानता वढेर गइरहेको छ । आजको मानव समाजमा एकातिर सीमित मानिसहरुको हातमा अथाह पुँजीको केन्द्रीकरण हुन पुगेको छ भने अर्कोतिर ठूलो संख्यामा मानिसहरु गरिवीको भूमरीमा फस्दै गइरहेका छन् । विभिन्न इन्डेक्सहरुले गरेको सर्वेक्षणलाई आधार मान्ने हो भने विश्वका कुल जनसंख्याको एक प्रतिशत धनी मानिस र उनान्सय प्रतिशत गरिब मानिसहरुको सम्पति वरावर रहेको छ । अक्स्फार्म इन्टरनेश्नल नामक संस्थाका अनुसार विश्वका जम्मा आठ जना धनाढ्य व्यक्तिहरुको सम्पति र तीन अरव पचास करोड मानिसहरुको सम्पत्ति वरावर रहेको छ । यो व्यवस्थाले विश्वका हरेक नागरिकहरुलाई पुँजी कमाउनु नै सवैथोक हो त्यसैले “कुनै पनि हालतमा पैसा कमाउनुपर्छ” भन्ने मानसिकताको कारण समाजमा विकृत मानसिकताको विकास हुँदै गइरहेकोले समाजमा शान्ति सुरक्षा एउटा चुनौतीको पहाड वन्दैछ । यसका साथै पुँजीवादी विश्व व्यवस्थाले राजनीतिलाई पुँजी कमाउने पेशा वनाउन पुगेको छ । राज्यसत्ताको रक्षा र आफनो मुनाफाका लागी अति विकसित राष्ट्रका सरकार प्रमुखहरु निगम पुँजीवादका निर्देशक तथा संरक्षक हुनु र विकसित तथा अल्पविकसित राष्ट्रका सरकार प्रमुखहरु दलाल पुँजीवादको निर्देशक तथा संरक्षक हुनुले उपरोक्त तथ्यलाई स्पष्ट गर्दछ । राष्ट्र प्रमुखदेखि स्थानीय सत्ताका विभिन्न निकायमा रहेका व्यक्तिहरुले  सत्ता र शक्तिको दुरुपयोग गर्दै पुँजी आर्जनका लागी सम्पूर्ण अस्त्रहरुको  प्रयोग गरिरहेका हुन्छन् भने आम नागरिकहरु वेरोजगार, अभाव र विभिन्न शोषण र उत्पीडनका कारण प्रताडित हुन पुगेका छन् । यसले सीमित मानिसहरुलाई प्रसस्त पुँजी आर्जन गरि धनी वन्न र आम श्रमिक वर्गलाई झन् पछि झन् गरिवीको रेखामुनि पुग्न वाध्य वनाइरहेको छ । यसरी धन सम्पत्तिको दृष्टिकोणले वर्तमान मानव समाजमा मानव–मानवका बीचमा ठूलो असमानता पैदा गर्नु वर्तमान पुँजीवादी विश्व व्यवस्थाको चरित्र र विशेषता वनेको छ ।
(ख) राष्ट्रको ठुलो धनराशी सैन्य क्षेत्रमा खर्च गर्नु
आज पुँजीवादी विश्व व्यवस्थाले आफनो राज्यसत्ताको रक्षा र मुनाफा लागी राज्यको ठुलो धनराशी सैन्य जनशक्ति र प्रविधिको क्षेत्रमा खर्च गरिरहेको छ । विश्वका अति विकसित राष्ट्रहरुले पुँजीवादी राज्यसत्ताको रक्षाका साथै आफनो मुनाफाका लागी भुमण्डलीकृत रुपमा शोषण एवम् उत्पीडनका लागी उच्च प्रविधिको केन्द्रीकरण सहित सवल सैन्य जनशक्तिको विस्तार र सुदृढीकरणका लागी ठूलो धनराशी खर्च गरिरहेका छन् । त्यस्तै विकसित र अल्पविकसित राष्ट्रहरुले आफनो राज्यको विरुद्ध जनतावाट हुन सक्ने सम्भावित जनविद्रोहको दमनका लागी र पुँजी आर्जनका लागी प्रविधिको केन्द्रीकरण सहित सवल सैन्य जनशक्तिको विस्तार र सुदृढीकरण गरिरहेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका लागी अंशगत बजेट विनियोजन गरिदा जनताका समस्याहरु दिनानुदिन वृद्धि भइरहेका छन् । शिक्षा, स्वास्थ्य र खाद्य सम्प्रभुता जस्ता जनताका नैसर्गिक आधारभुत आवश्यकताहरुलाई राज्यको तर्फवाट जिम्मा लिनुको सट्टा उल्टो नीजिकरण र माफियाकरण गरिनुले आजको आधुनिक भनिएको युगमा पनि अशिक्षा तथा औषधी र खाधन्नको अभावमा नागरिकले अनाहकमा मृत्युवरण गर्नु परिरहेको छ । आज एकातिर आधुनिक विज्ञान प्रविधिको विकास र प्रयोगले मानवीय श्रमशक्तिलाई विस्थापित गर्न पुगेको छ भने अर्कोतर्फ शाषकहरुको गलत दृष्टिकोणका कारण विश्व व्यापीरुपमा वेरोजगार मानिसहरुको संख्या दिनानुदिन वृद्धि भइरहेको छ । आफनो राज्यसत्ताको रक्षा र मुनाफाका लागी राष्ट्रको ठूलो धनराशीको खर्च गर्नु र जनताको जीवनमा खेलवाड गर्नु वर्तमान पुँजीवादी विश्व व्यवस्थाको अर्को चरित्र र विशेषता वनेको छ ।
(ग) मुनाफाका लागी हस्तक्षेप र अतिक्रमण 
आज पुँजीवादी विश्व व्यवस्थाले प्रजातन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रताको नारालाई केवल आफनो नाफासँग सौदावाजी गर्ने गरेको छ । जव आफनो राज्यसत्ता र नीजि स्वार्थमा धक्का लाग्न थाल्छ तब उसले आफनो नारा, मूल्य र मान्यतालाई रद्दीको टोकरीमा मिल्काउन पुग्दछ । आज अमेरिकी–वेलायती गठवन्धन र रसिया जस्ता अति विकसित राष्ट्र (साम्राज्यवादी राष्ट्र) हरुले विकसित र अल्पविकसित राष्ट्रहरुमाथि गरिरहेका वेलगाम फौजी हस्तक्षेपहरुले उपरोक्त वास्तविकतालाई पुष्टी गरिरहेका छन् । अमेरिकी–वेलायती (साम्राज्यवादी) गठवन्धनद्धारा सार्वभौम राष्ट्रहरु इराक, अफगानिस्तान, लिविया, सिरिया लगायतका स्वाधिन राष्ट्रहरुमाथि गरिएका वेलगाम र विध्वंसकारी फौजी हमलाहरुले पुँजीवादी विश्व व्यवस्थाको नेतृत्व गरिरहेका अति विकसित राष्ट्रहरुको चरित्रलाई स्पष्ट गर्दछ । यो उनीहरुको चारित्रिक विशेषता नै हो । किनकी त्यसो नगरिकन उनीहरुले आफुलाई वचाउँन सक्दैनन । जहाँसम्म उनीहरुको नाराको कुरा छ, त्यो आफूलाई कहिल्यै प्रयोग गर्दैनन् । केवल अरुलाई झुक्याउँनका लागी मात्र र आफु भन्दा कमजोर, साना र निर्धन राष्ट्रका लागी माञ उक्त नारा प्रयोग गरिन्छ । आफुले तय गरेको नारालाई वेवास्ता गर्दै आफनो राज्यसत्ताको रक्षा र मुनाफाका लागी आफुभन्दा साना, कमजोर र निर्धन राष्ट्रमाथि वेलगाम विध्वंसकारी फौजी हमला गर्नु वर्तमान पुँजीवादी विश्व व्यवस्थाको तेस्रो चरित्र र विशेषता वनेको छ ।
(घ) नवउपनिवेश र दलाल चरित्र
आजको पुँजीवादी विश्व व्यवस्थामा अति विकसित अर्थात् साम्राज्यवादी राष्ट्रहरुले विकसित र अल्पविकसित राष्ट्रहरुमाथि गर्ने शोषण र उत्पीडनको स्वरुपलाई वदलेका छन् । १८औं र १९ औं शताव्दीमा उनीहरुले सैन्य हमलाद्धारा आफुभन्दा साना र कमजोर राष्ट्रहरु कव्जा गरी शासन गर्नुका साथै त्यहाँ रहेका अथाह स्रोत साधनहरुको प्रयोग गर्ने गर्दथे तर आज उनीहरुले त्यसो नगरी साना र कमजोर राष्ट्रहरुका सरकार प्रमुखहरुलाई आफु अनुकुल वनाउने र आफनो आवश्यकता अनुसार विभिन्न सन्धि सम्झौताहरु थोपर्दै अथाह कच्चा पदार्थको शोषण र दोहन गरिरहेका छन् । यसप्रकारको राजनैतिक चरित्रलाई नवऔपनिवेशिक चरित्र भन्ने गरिएको छ । यस प्रकारको शोषण र उत्पीडनका लागी साना तथा कमजोर राष्ट्रहरुलाई अस्थीर वनाई राख्ने, आफु अनुकूल नभएमा सरकार प्रमुखहरुलाई अपदस्थ गर्ने, हत्या गर्ने त्यतिले पनि नपुगेमा सैन्य हस्तक्षेप गरेर राष्ट्रलाई नै ध्वस्त वनाई आफु अनुकूलका दलालहरुको नियुक्ति गर्ने गरेका छन् । यता साना तथा कमजोर राष्ट्रहरुका सरकार प्रमुखहरुले राज्यसत्ताको रक्षा र आफनो मुनाफाका लागी अति विकसित राष्ट्रका प्रमुखहरुको दलाली गर्नका लागी प्रतिस्पर्धा गरिरहेका हुन्छन् । त्यसका लागी उनीहरुले जस्तोसुकै सम्झौता गर्न पनि पछि पर्दैनन, चाहे राष्ट्र र जनतालाई वन्धक राख्न किन नपरोस् । यसका साथै उनीहरुले राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हरेक क्षेत्रमा दलालहरु निर्माण गरिरहेका हुन्छन् । यस प्रकारको राजनैतिक चरित्रलाई दलाल चरित्र भन्ने गरिन्छ । अति विकसित राष्ट्रहरुले आफनो मुनाफा लागी आफुभन्दा साना तथा कमजोर राष्ट्रहरुलाई उपनिवेश वनाउनु तथा विकसित र अल्पविकसित राष्ट्रहरुले आफनो राज्यसत्ताको रक्षा र मुनाफाका लागी साम्राज्यवादी शक्ति राष्ट्रहरुको दलाली गर्नु वर्तमान पुँजीवादी विश्व व्यवस्थाको चौथो चरित्र र विशेषता वनेको छ ।
(ङ) जनताका आधारभुत आवश्यकताप्रति वेवास्ता 
आज पुँजीवादी विश्व व्यवस्था जनताप्रति हदैसम्मको निरङ्कुश वन्दै गइरहेको छ । आवधिक रुपमा गरिने निर्वाचनका दौरानमा जनताका अगाडी अनेकथरी वाचा र प्रतिवद्धता जाहेर गर्ने जव उनीहरु जनताको मतद्धारा निर्वाचित हुन पुग्छन् तव उनीहरु जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्नतिर होइन बरु जसरी हुन्छ आफनो स्वार्थ पुरा गर्नका लागी आफुलाई केन्द्रीत गर्न पुग्दछन् । जब  अर्को आवधिक चुनावको नाटक गरिन्छ तब उनीहरु जनतालाई आफुले जनहितमा काम गर्न चाहेको तर विपक्षी दल वा पार्टीले जनहितमा काम गर्न नदिएको तर्क गर्दछन् । निर्वाचनका दौरानमा फेरि अर्को दल विजय हुन्छ र यसले पनि यस्तै नाटक मन्चन गर्न पुग्दछ । यसरी जनताको पुस्तौ पुस्ता बितिरहेको हुन्छ । आफुलाई वडेमानको प्रजातान्त्रिक भनाउँदा मुलुकहरुमा यसै प्रक्रियाको घाट, षड्यन्त्र र छलकपटवाट शताव्दीऔं समय वितिरहेको छ । यसका साथै पुँजीवादी शाषकहरु जनताप्रति कति निरङ्कुश र लापरवाही गर्दा रहेछन् भन्ने कुरा कोभिड–१९ को एउटा सन्दर्भलाई लिन सकिन्छ । संसारको अति विकसित मुलुकको सूचाङ्कमा रहेको, पुँजीवादी विश्व व्यवस्थाको नेतृत्व गरिरहेको मात्र नभई प्रजातन्त्रको जननीमुलूक भनि कहलिएको र दुनियाँलाई प्रजातन्त्र र मानवअधिकारको पाठ सिकाइरहेको साम्राज्यवादी राष्ट्र अमेरिकामा कोभिड–१९ महामारीका कारण ठूलो मानवीय र आर्थिक क्षति भएको र यो अझ भयावह वन्दै गइरहेको छ । त्यसका पछाडी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको छ । उनले घोषणा गरेकी अमेरिकी जनता वन्दावन्दीमा वस्नका लागी जन्मिएका होईनन् । उनीहरु स्वतन्त्रताका लागी अमेरिकामा जन्मिएका हुन् । बन्दावन्दी त तानाशाही या कम्युनिस्ट मुलुकहरुका जनताहरुमा मात्र प्रयोग हुने गर्दछ भन्दै कोभिड–१९ भाइरसलाई चाइनिज भाइरस समेत भने । उनले आवश्यकता हेरि बन्दावन्दी गर्ने र मास्क प्रयोग गर्नुका साथै अन्य विभिन्न निर्देशिका जारी गर्ने विश्व स्वास्थ्य संगठनको सुझावलाई अस्वीकार मात्र गरेनन् वरु उक्त संगठनमाथि विभिन्न आरोपहरु थोपर्न पुगे । यसका पछाडी उनका दुइवटा स्वार्थहरुले काम गरेको छ । पहिलो–उनी आफै निगम पुँजीवादका प्रतिनिधि हुन् । उनका दर्जनौ ठूला कारखानाहरु रहेका छन् र बन्दावन्दी गर्दा उनको समूहलाई दैनिक अर्बौ डलर घाटा हुनेछ । उनले आफनो यो वास्तविकतालाई स्वीकार गर्नुको सट्टा ढाकछोप गर्न चाहे । दोस्रो–उनको राष्ट्रको राष्ट्रिय कानुन या संविधानमा आफना नागरिकलाई रोजगारी ग्यारेण्टी गर्ने अन्यथा वेरोजगार भत्ता दिनुपर्ने प्रावधान रहेको छ । बन्दावन्दीको अवस्था आएमा लाखौ मानिसहरु वेरोजगार हुनेछन् र उनीहरुलाई वेरोजगार भत्ता दिनुपर्ने हुन्छ । यी दुई कुराहरुवाट बच्न ट्रम्पले अनेक नाटक मञ्चन गर्न पुगेका छन् । यसप्रकारको चारित्रिक विशेषता युरोप र अमेरिका लगायत अति विकसित अन्य राष्ट्रहरुले पनि पछ्याएको पाईन्छ । यता अल्पविकसित राष्ट्रहरुमा पनि नागरिकहरुको स्वास्थ्य समस्याका लागी सरकारको तर्फवाट जुन तदारुकता अपनाउनु पर्ने हो त्यसो नगरी केवल औपचारिकता मात्र निर्वाह गरिएका छन् र राहत तथा स्वास्थ्य सामाग्री खरिदको नाममा अर्बौ रकम भ्रष्टाचार गरिएका छन् । यो एउटा सामान्य दृष्टान्त मात्र हो । समष्टिमा हेर्दा पुँजीवादी विश्व व्यवस्था जनताको आधारभुत आवश्यकताप्रति वेवास्ता मात्र होइन जनताप्रति निरङ्कुश वन्दै गइरहेको छ । यो वर्तमान पुँजीवादी विश्व व्यवस्थाको पाँचौ चरित्र र विशेषता हो ।

(३) पुँजीवादी विश्व व्यवस्थाको समाधान
माथि हामीले वर्तमान पुँजीवादी विश्व व्यवस्थाको चरित्र र विशेषतावारे सङ्क्षिप्त  र अंशगत चर्चा ग-यौं । यसको समाधान सामान्य सुधार गरेर सम्भव छैन वरु यसको समाधान वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापनावाट मात्र सम्भव छ । विगतमा सर्वहारा श्रमिक वर्गले सामन्तवाद तथा पुँजीवादका विरुद्ध सशस्त्र सङ्घर्षद्धारा विश्वका झण्डै एकतिहाई राष्ट्रहरुमा समाजवादी राज्यसत्ता स्थापना गरिएका थिए।जसमा पेरिसकम्युन (१८७१), सोभियत सङ्घ (१९१७), भियतनाम (१९४५), कोरिया (१९४७), चीन (१९४९), क्युवा (१९५९)लगायत पूर्वी युरोपका पोल्याण्ड, युगोस्लाभिया, चेकोस्लाभाकिया, रुमानिया, हँगेरी, अल्वानिया, वुल्गेरिया, पूर्वी जर्मनलगायतका राष्ट्रहरुमा समाजवादी क्रान्तिहरु सम्पन्न गरिएका थिए । केही राष्ट्रहरुमा समाजवादी सत्ता सञ्चालनको अनुभवको कमी लगातारको पुँजीवादी राज्यसत्ताको हमला तथा समाजवादको नेतृत्व गरिरहेका कम्युनिस्ट पार्टीको नेताहरुमा आएको विचलनले गर्दा ती समाजवादी राज्यसत्ताहरु प्रतिक्रान्तिमा वदलिन पुगेका छन् । समाजवादी राज्यसत्ताको सारतत्व भनेको राज्यसत्ता सम्पूर्ण रुपले जनताप्रति जवाफदेही रहेको हुन्छ । जहाँ नागरिकताका लागी गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी राज्यद्धारा ग्यारेण्टी गरिएको हुन्छ । सम्पूर्ण नागरिकहरुको हकमा क्षमता अनुसारको काम र काम अनुसारको दामको नीति लागु गरिन्छ । आम नागरिकहरु स्वस्थ प्रतिस्पर्धाका आधारमा राष्ट्र निर्माणका लागी विज्ञानको विभिन्न क्षेत्रमा खोज, अध्ययन र अनुसन्धानमा समर्पित हुनेछन् । यसले सिङ्गो दुनियाँका मानव जातिलाई सुख र समृद्ध वनाउदै जानेछ । विगतका समाजवादी राष्ट्रहरुले खोज अध्ययन अनुसन्धानको क्षेत्रमा ठूला–ठुला प्रगति हासिल गरेका थिए । जसको दृष्टान्त करिव दुईसय वर्ष पुँजीवादी राज्यसत्ता सञ्चालन गरेको संयुक्त राज्य अमेरिका र करिव चालीस वर्ष समाजवादी राज्यसत्ता सञ्चालन गरेको तत्कालिन सोभियत संघको मानव विकास सुचाङ्क र विज्ञान प्रविधिको खोज, अध्ययन–अनुसन्धानको तुलना गरेर हेर्दा सोभियत सङ्घ श्रेष्ठ मानिएको तथ्याङ्हरुले स्पष्ट गरेका छन् । यसको मुख्य कारण संयुक्त राज्य अमेरिकामा पुँजीवादी व्यवस्था लागु गरिएको थियो र अहिले पनि कायम छ भने तत्कालीन सोभियत सङ्घमा समाजवादी राज्यसत्ता सञ्चालन गरिएको थियो । जव समाजवादी राज्यसत्ता पुँजीवादी राज्यसत्ताको तुलनामा हरेक दृष्टिले श्रेष्ठ सावित हुन पुग्यो तव पुँजीवादी राष्ट्रहरुले समाजवादी राज्यसत्तामाथि राजनैतिक, कुटनैटिक र फौजी रुपले घेरावन्दी गर्न पुगे । ऐतिहासिक भौतिकवादी दृष्टिकोणवाट अध्ययन गर्दा आफनो आन्तरिक कारणले ती समाजवादी राज्यसत्ताहरु विघटन हुन पुगे तर पुँजीवादी विश्व व्यवस्थाको चौतर्फी राजनैतिक, कुटनैतिक र सैन्य घेराबन्दी पनि चानचुने थिएन । यी आन्तरिक र वाहय चुनौतीहरुको सही ढङ्गले समाधान दिन नसक्दा समाजवादी राज्यसत्ताको रक्षा गर्न सकिएन । 
विगत इतिहासमा सम्पन्न गरिएका महान समाजवादी जनक्रान्ति र ती समाजवादी राज्यसत्तामा भएका प्रतिक्रान्तिहरुको ऐतिहासिक शिक्षाहरुको संश्लेषण सहित समाजवादी विश्व व्यवस्थाका लागी संसारका सम्पूर्ण श्रमिकहरु नयाँ अभियानमा लामवन्दी हुनु आजको अपरिहार्य आवश्यकता वनेको छ । विगत इतिहासमा समाजवादी शिविरको विघटनका लागी टुप्पी कसेर लागेको पुँजीवादी विश्व व्यवस्था आज पनि समाजवादी विश्व व्यवस्थाको स्थापनालाई जसरी पनि रोक्ने अभियानमा टुप्पी कसेर लागी परेको छ । जसका लागी उनीहरुले आफनो राज्यसत्ताको रक्षा र संसारका श्रमिक वर्गको शोषणका लागी पुँजीवादी विचार, राजनीति, अर्थ र संस्कृतिमा केही खोज, अनुसन्धान गर्नुका साथै श्रम शोषणका  लागी विभिन्न अन्तराष्ट्रिय संगठनका सञ्जालहरु निर्माण र परिचालन गरेका छन् भने विगत समाजवादी क्रान्तिको समय भन्दा विज्ञान प्रविधि र सूचना सञ्चारको विकासका कारण विश्व भूमण्डलीकृत हुन पुगेको छ । पुँजीवादी शाषकहरुको शोषण गर्ने चरित्र फेरिएको छ । यो अवस्थामा अवको समाजवादी क्रान्ति विगतकालका क्रान्तिको नक्कल गरेर सम्भव छैन । अव विश्व भरका श्रमिक वर्गले माथि उल्लेखित चुनौतीहरुमाथि विजय हासिल गर्दै समाजवादी विश्व व्यवस्था स्थापनाका लागी मालेमावादको रक्षा र विकास गर्दै नयाँ खोज, अध्ययन, अनुसन्धान सहित नयाँ संश्लेषणको प्रयोग आवश्यक वनेको छ । संसारभरका श्रमिक वर्गको प्रतिनिधि कम्युनिस्ट पार्टीहरुले मालेमावादको रक्षा र विकास गर्नुपर्दछ भन्ने सघन छलफल चलाइरहेको अवस्थामा हाम्रो पार्टीले आफनो आठौं महाधिवेशन वाट अबको समाजवादी क्रान्ति एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत् हुने कुरा संश्लेषण गरेको छ । जुन कार्यदिशा आजको विश्वमा वैज्ञानिक र वस्तुवादी रहेको छ । वस्तुको विकास प्रक्रियालाई नवुझ्ने र सिद्धान्तलाई कोरा कल्पनामा सीमित गर्न चाहने केही कोठे दार्शनिक र व्यवहारवादीहरुले हाम्रो अध्ययन, अनुसन्धान र खोजद्धारा गरिएको संश्लेषणलाई विभिन्न आरोप लगाउने गरेका छन् । यसमा हाम्रो पार्टीलाई कुनै प्रवाह छैन किनकी विगत इतिहासदेखि वर्तमान अवस्थासम्म समाज विकासको प्रक्रियामा राजनीतिक विज्ञानले यस प्रकारका समस्या झेल्दै अगाडी वढेको छ । राजनैतिक विज्ञान त्यस्तो विज्ञान हो, जसले राजनैतिक पार्टीका निश्चित विचार, दर्शन र सिद्धान्तको जगमा जनतालाई जागृत गर्दछ र जनताको शक्तिद्धारा पुरानो राज्यसतालाई वलपूर्वक विघटन गर्न पुग्दछ । सही विचार, राजनीति र संगठनात्मक सिद्धान्तले लैश भएको पार्टीको सचेत प्रयत्न र राजनैतिक चेतनाद्धारा प्रशिक्षित जनता, जो पुरानो राज्यसत्ताको शोषण–उत्पीडन र थिचोमिचोमा वस्न नसक्ने अवस्थामा रहेको हुन्छ, त्यसको तालमेलद्धारा नयाँ राजनैतिक क्रान्ति सम्पन्न हुने गर्दछ । आज नेपाल र विश्वव्यापी रुपमा पुँजीवादी विश्व व्यवस्थाका कारण जनता आजित वनेका छन् र नयाँ र उन्नत विश्व व्यवस्थाको खोजीमा लागी रहेका छन् । समाज विकासको प्रक्रियामा वर्तमान पुँजीवादी विश्व व्यवस्था एउटा चरण मात्र हो । कोभिड–१९ को सङ्क्रमण र महामारीसम्म आइपुग्दा पुँजीवादी विश्व व्यवस्था जनताको जीवन रक्षा र आधारभुत आवश्यकता पुरा गर्ने कुरामा पूर्णतः असफल सावित हुन पुगेको छ । यसको पृष्ठभूमिमा आज विश्वमा नयाँ विश्व व्यवस्थाको छलफलहरु पनि शुरु भएका छन् । पुँजीवादी विश्व व्यवस्थाको नेतृत्व गर्ने थिङ ट्याङ्कहरुले यसको रक्षा र श्रमिक वर्गको दमनका लागी जतिसुकै नयाँ अस्त्रहरु प्रयोग गरेपनि पुँजीवादी विश्व व्यवस्थाको विघटन निःशर्त र अनिवार्य छ भने उदयीमान श्रमिक वर्गको हित र संरक्षण गर्ने वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना पनि निःशर्त र अनिवार्य हुनेछ । किनकी यो नै एकमात्र राजनैतिक विज्ञानले प्रमाणित गरेको तथ्य हो ।

स्रोत : राप्ती आवाज