मधेसको एउटा गाउँ । शिवानी गाउँ ! यो गाउँको खास नाम त अर्कै छ । अहिलेलाई मैले ‘शिवानी गाउँ’ नाम राखिदिएको छु । गाउँको वास्तविक नाम उल्लेख नगरी ‘शिवानी गाउँ’ नाम राख्नुको कारण अरु नै छ । तर मैले शिवानीको नाउँबाट यस गाउँको नाम ‘शिवानी गाउँ’ राखेको हुँ ।
हामी आइपुगेका छौँ शिवानी गाउँ ! हामी हाम्रो कार्यक्रमको लागि यहाँ आइपुगेका छौँ । दिउँसो करिब तीन बजेको छ । कमरेड इन्दु र कमरेड शिला हुनुहुन्छ । अरु पनि छन् । यहीँ गाउँका स्थानीय कमरेडहरु । हाम्रो गाँस र बास पनि यहीँ घरमा हुनेछ ।
उनको खपडाले छाएको सानो घर छ । आकारमा सानो । वरिपरिका घरहरु पनि उनको घरजस्तै छन् । एकै आकारप्रकारका । ईँटको गारोमा फुस्रो माटोले लिपिएको । चिटिक्क । आँगनमा छ, अगेनो र चुल्हो । आँगनमा सयपत्री र भालेफूल फुलेका छन् । आँगन छेउमै छ, परालको कुन्यु । हामी आँगनमै बसेर आपसमा बातचित गरिरहेछौँ ।
उनले हामीलाई पानी ल्याइदिइन् । पानी पियौँ । त्यसपछि ? त्यसपछि उनी कुचो टिपिन् । फटाफट आँगन बढार्न थालिन् । मेरो ध्यान मोडिएर उनको गतिविधितिर गयो । म चुपचाप नियाल्न थालेँ । उनलाई । उनको कामलाई । उनले आँगन बढारी सकिन् । लगत्तै आँगनको चुलो लिपिन् । चुलो लिपिसकेर धानको भुस ल्याइन् । एक बाल्टी पानी ल्याइन् । जुठेल्नोमा । भाँडा माझिन् । उनको भाई आँगनमा खेलिरहेको छ । उसले डोजर (खेलौना) यताउती दगुर्याइरहेको छ आँगनमा ।
उनले रोटी आकारको गुँइठा ल्याइन् । बुट्टेदार ढकियामा । चुलो छेउमै राखिन् । घर अगाडि करेसा छ । एक बाल्टी पानी बोेकेर करेसामा पुगिन् । पानी हालिन् । साग, बन्दाहरुको बेर्नामा । त्यसपछि भाइसँग गट्टा खेल्न थालिन् । परालको कुन्यु छेउमा ।
०००
उनको घर अगाडी खेत छ । खेतमा बन्दा, प्याज, भान्टा, खुर्सानी, टमाटरको ब्याडहरु छन् । उनको बा’ले लगाएको । उनको बा’ले तरकारीका बेर्नाहरु बेच्छन् । तरकारी खेती गर्छन् । तरकारी बेच्न हाट जान्छन् । आधा जति बेर्नाहरु बेचिसकेका छन् । तरकारी र तरकारीका बेर्नाहरु बेचेर परिवार चलाइरहेछन् उनको बा’ ।
अब भने चुपचाप नियालेर मात्र धरै भएन । मौनता तोडेँ । उनलाई बोलाएँ–बैनी ! यता आऊ न !
उनी आइन् ।
–तिम्ले त कसैले नअह्राए पनि खुरुखुरु काम गर्दिरहिछौ नि !
उनले मुट्टो हल्लाइन् । हाँसिन् ।
म पनि सँगै हाँसिदिएँ ।
–तिम्रो नाम के हो नि ?
–शिवानी यादव !
–कति कक्षामा पढ्छ्यौ त ?
–सात कक्षामा ।
(उनकै नामबाट बिद्यालयको नाम राखिदिएँ–शिवानी मावि । तर बिद्यालयको वास्तविक नाम अर्कै छ ।)
–कत्तिको मन लाग्छ नि पढ्न ?
–बेस्सरी पढ्न मन लाग्छ ।
–कतिखेर मिलाउँछ्यौ त पढ्ने समय ?
–रातीमा पढ्छु ।
–अरु केके गर्न रुचाउँछ्यौ नि !
–पढ्न मात्रै ।
–खेल खेल्न, गीत गाउन, कविता लेख्न मन पर्दैन ?
–नाँइ ! बरु चित्र बनाउँछु ।
०००
उनको घर छेउमा उनकै ठूलो बा’को घर छ । शिवानी र म कुराकानी गरिरहेका छौँ । छेउमै कमरेड इन्दु र कमरेड शिला छन् । शिवानीले बोल्ने भाषा म बुझ्दिनँ । तर हामी नेपालीमै कुरा गरिरहेका छौँ । कतिपय शब्दहरु मैले बुझिनँ । नेपालीमा उल्था गर्नेर बुझाउने काम कमरेड इन्दुको ! उनको भाइ उनीसँगै लुटपुटिन आएको छ ।
उनले चुलोमा गुँइथा बाल्न थालिन् । भात बसाईन् । साग टिपिन् । भित्रबाट आलु ल्याईन् । तरकारी पनि पकाइन् । मैले फेरि उनलाई बोलाएँ । उनी आइन् ।
–तिम्रो फोटो खिच्छु है !
उनी लजाईन् । दौडिइन् चुलोतिर ! फेरि आइन् । अप्ठ्यारो मानिन् सायद । उनको भाइ हाँस्यो । शिवानी पनि हाँसी ।
शिवानी सिधा पोजिसनमा उभिइन् म अगाडि । उनको फोटो खिचेँ । भाइलाई पनि बोलाएँ । खुसी हुँदै आयो र दिदी झैँ उभियो । उहीँ सिधा पोजिसनमा ।
–भाइ ! तिमीसित सेल्फी खिच्ने हो । मसँगै आऊ ।
ऊ आयो । कमरेड इन्दु र मेरो बिचमा उभियो । मैले सेल्फी खिचेँ ।
–भाइ, तिम्रो नाम के हो नि ?
–सोमनाथ यादव ।
–कति कक्षामा पढ्छौ त ?
–बाल कक्षामा ।
ऊ हाँस्दै दगुर्दै गयो ।
०००
–तिमी कति बर्षकी भयौ नि ?
–दस बर्ष ।
–यति सानै उमेरमा घरको सबै काम गर्न जानेकी रहिछ्यौ ।
उनले मुन्टो हल्लाइन् । हाँसिन् । लजाइन् सायद ! मलाई धेरै कुरा सोध्नु छ । उनलाई लाग्दो हो कि यो मान्छेले सबथोक किन सोधिरहेको होला ?
–कति भाइबैनी हौ नि ?
–एउटा भाई छ ।
–दुई भाइबैनी मात्रै हो ?
–हो । (टाउको हल्लाएर हो भन्ने संकेत गरी ।)
–तिम्रो बा’ले के गर्नुहुन्छ नि ?
–तरकारी बेच्न जान्छ ।
–अनि आमा नि ? !
–आमा छैन ।
उनी चुलो तिर गइन् ।
०००
उनको ठूलीआमा, आन्टीहरु हामी छेउमा बसेर हाम्रो बातचित सुनिरहेका छन् । उनका बा’ लगायत त्यहाँ उपस्थित अरु कमरेडहरु छलफलमै व्यस्त छन् । ठूलीआमाले बताइन् । उसको आमा बितेको ४÷५ बर्ष जति भयो । पेटको बिमार थियो । उपचार त गरेको हो । भएन ।
शिवानीलाई आमाको अनुहार प्रष्ट याद छैन । उनलाई हिजोआज आमाको खासै याद पनि आउँदैन । उनको आमा बित्दा उनी ५÷६ बर्षकी थिइन् सायद । उनको भाईलाई त केही थाहै छैन । आमा थिइन् कि थिएनन ? ऊ ठम्याउन सक्दैन । उनको हजुर बा’ छन् । हजुरबा’ले हार्माेनियम बजाउँछन् । हार्माेनियम बजाउन कपिलवस्तु, परासी, रुपन्देहीको विभिन्न ठाउँसम्मै पुग्छन् । खास गरि भजन गाउने निम्तो आउँदा ।
झमक्क साँझ परिसकेको छ । आँगनमा पराल बाल्न सुरु भयो । जाडो बढ्दै छ । पराल बाल्दै, आगो ताप्दै कुराकानी गरिरह्यौँ । खाना खायौं । फेरि पराल बाल्दै, आगो ताप्दै कुराकानी गर्न सुरु । उनी पनि आइन् । छेउमै पिर्कामा बसिन् ।
–तिम्रो नाम के हो ?
–पारस ।
–इन्दु हो ।
–हामीलाई नबिर्ष है शिवानी !
उनी हाँसिन् । र, प्रश्न गरिन् ।
–तिमी पारि मेलामा आको छौ ?
–अहँ, आएको छैन । कहिले लाग्छ नि ?
–हप्तैपिच्छे लाग्छ । कतिधेरै मान्छे आउँछ । रमाइलो हुन्छ ।
सायद उनले हाटलाई नै मेला भनिन् । मैले अनुमान लगाएँ । उनी हाटइतर मेला गएकी छैनन् होला । आउँला नि कुनै दिन । मैले भनेँ । उनी खुसी थिइन् । उनी केही सोध्न खोजिरहेकी थिइन् कि ! तर, केही सोधिनन् । बरु मैले सोधेँ ।
–आज स्कुल गयौ त ?
–गएँ ।
–के के पढाइ भयो त ?
–अंग्रेजी मात्रै पढाइ भयो । अरु सर थिएन ।
–किन ?
–खै, थाह छैन ।
–पढेर के बन्ने नि !
–थाह छैन । धेरै पढ्न मन छ ।
०००
उनी सुत्न गइन् । रातीमा पढ्छु भनेकी थिइन् । सायद पढ्न गइन् कि ! उनका बा’,ठूलोबा’, हजुरबा’ र हामी पराल बाल्दै, आगो ताप्दै बस्यौँ । उनीहरु जनयुद्धदेखि नै माओवादी रहेछन् । जनयुद्धको कुरा भयो । शान्तिप्रक्रियाको कुरा भयो । प्रचण्ड–बाबुरामदेखि विप्लवसम्मको कुरा भयो ।
उनीहरुको निष्कर्ष छ । ‘प्रचण्ड–बाबुरामले हाम्रो अपमान गरे । हामीले यो अवस्था कल्पना गरेका थिएनौं । प्रचण्ड बाबुरामले सेना बुझाए । उनीहरुबाट आशा गर्ने ठाउँ छैन । विप्लवहरुले आशा गर्ने ठाउँमा छन् । क्रान्ति गर्नुपर्छ । सकेसम्म त प्रचण्ड बाबुराम पनि फर्किनुपर्छ । माओवादीहरुलाई घेराबन्दी गरिएको छ ।’ उनीहरुले माओवादी भनेपछि गर्व गर्छन् । अथाह प्रेम छ माओवादीप्रति । क्रान्ति गर्नुपर्छ भनेर उत्साहित छन् । उनीहरुको कुरा सुन्यौँ । हाम्रो कुरा सुनायौँ । शीत पर्न थालेको छ । सुत्ने तरखर गर्याैँ ।
०००
अर्काेदिन बिहान हामीभन्दा छिटो उनी उठिसकेकी रहिछन् । उनको बा’ खेतमा बन्दा, प्याज, भाण्टा, खुर्सानीका बेर्नाहरु उखेलिरहेका छन् । उनी घरधन्दामा व्यस्त । भाइ आँगनमा खेलिरहेको छ । उनको खेततिर डुलेँ म । ब्याड हेरेँ । तरकारी हेरेँ । लोभलाग्दा छन् खेतमा तरकारीहरु । तरकारीका बेर्नाहरु । पानी लगाउन मोटर उठाउदै छन् ठूलाबा’, हजुरबा’ र उनको बा’ । मैले पनि धकेल्न सघाएँ ।
उनको आमा छैनन् । सबै घरधन्दा उनी आफै गर्छिन् । उनलाई कसैले अह्राउन पर्दैन । उनको बा’ र हजुरबा’ले असाध्यै माया गर्छन् । बा’ले दोस्रो बिहे गरेका छैनन् । गर्ने चाहना छैन । दुःख सुख जसोतसो छोराछोरी पढाएका छन् ।
–शिवानी तिमी आफै आफ्नी आमा हौ ।
–आफ्नो मात्रै ?
–होइन । तिम्रो भाइको पनि आमा हौ ।
शिवानीलाई दुःख छ । दुःख छ पनि के भन्नू ! के दुःख के सुख ! उस्तै । दुःख र जिम्मेवारीको भीमकाय पहाडले उनको थाप्लोमा चढेको छ । उनी बोकेर उभिएकी छन् निर्धक्क !
शिवानी घरधन्दा सकी । भाइलाई खाना खुवाइ । आफू पनि खाइ । नौ बज्यो । स्कुल जान तयार भइ सफा ड्रेसमा । उनी भाइलाई लिएर स्कुल गई । हामी खाना खाएर अभियानतिर लाग्यौँ । फेरि पनि शिवानीसँग भेट हुनेछ । हामी भेट भइरहनेछौँ शिवानी !
०००
प्रतिक्रिया राख्नुहोस्