मिक्लाजुङमा प्रहरी र सशस्त्रको अस्थायी बेसक्याम्प 

नेकपाविरुद्ध संयुक्त सर्च अप्रेशन

मिक्लाजुङमा प्रहरी र सशस्त्रको अस्थायी बेसक्याम्प 

मंसिर २८, बुटवल । मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी बेसक्याम्प स्थापना भएको छ ।

नेकपाका नेता कार्यकर्ताको सुराकी गर्दै आएका र सम्झाउन जाँदा आक्रमण गरेपछि प्रतिकारमा मारिएका राजेन्द्र श्रेष्ठको मृत्यु भएपछि मिक्लाजुङ १ स्थित आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखेको हो ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ सशस्त्र र नेपाल प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली खटिएको छ । आपतकालीन अवस्थामा परिचालन गर्न मिल्ने गरी थप ‘रिजर्ब फोर्स’ पनि तयारी अवस्थामा छ । दुवै टोलीले नेकपाविरुद्ध संयुक्त रुपमा सर्च अप्रेशन चलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्र र छिमेकी जिल्लामा पनि सर्च अप्रेशन चलाएको थियो ।

वेसमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।