पुष ३, बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्यूरोले आयोजना गरेको धौलागिरी बन्दको प्रभाव ब्युरो अन्तर्गतका सबै जिल्लाहरुमा परेको छ । बन्दसँगै विहानैदेखि सार्वजनिक यातायात, उद्योग कलकारखाना, शिक्षण संस्थाहरु बन्द भएका छन् ।
बन्दको प्रभाव ब्युरो अन्तर्गतका जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लामा बन्दको प्रभाव परेको जिल्ला स्थित जनवाटो संवाददाताले बताएका छन् । नेकपाले आफ्ना नेता जगेन्द्र पुन ‘जगत’को कारागारमा रहेको अवस्थामा अस्वभाविक मृत्यु भएको भन्दै त्यसको विरुद्ध ब्युरो अन्तर्गतका जिल्लाहरु बन्द गरिएको नेकपा धौलागिरी ब्युरोले बताएको छ । अति आवश्यकीय सवारी साधनहरु एम्बुलेन्स, दुधका गाडी, बारुणयन्त्र आदिमा भने रोक नलगाइएको नेकपा स्रोतले बताएको छ ।
धौलागिरी ब्यूरो इन्चार्ज राजनले पौष १ गते एक वक्तव्य जारी गर्दै धौलागिरीमा बन्दको आव्हान गरेका थिए । इन्चार्ज राजनले वक्तव्यमा विभिन्न वाहनामा पटक–पटक गिरफ्तार, हिरासत र जेल जीवन बिताई रहनु भएका म्याग्दीका लोकप्रिय नेता जगेन्द्र पुन ‘जगत’को अस्वभाविक मृत्यु भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको बताएका थिए ।
नेकपाका नेता जगतको राज्यको नियन्त्रणमा रहँदा मानसिक तथा शारीरिक यातनाका कारण विरामी भई उपचारका क्रममा मंसिर २९ गते मृत्यु भएको बताइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निधन भएका म्याग्दी जनसरकार प्रमुख समेत रहेका जगतको शव आजसम्म पनि परिवारजनले बुझ्न मानेका छैनन् ।
पर्वत जेल प्रशासनले राजवन्दीको स्वास्थ्यप्रति गम्भिर खेलवाड गर्दै उपचारको सिलसिलामा चरम लापरवाही र गैरजिम्मेवारीपन देखिएको आरोप इन्चार्ज राजनले लगाएका छन् । गम्भिर प्रकृतिको विरामीलाई अस्पतालमा छिटो लिएर उपचार गर्नुको अलवा कास्की कारगारमा बुझाउन खोज्नु, अस्पताल पु¥याई सकेपछि पनि समयमा नै उपचारको प्रक्रिया अगाडि नबढाउनु, उल्टै ‘विप्लव’को मान्छे भएकोले सिध्याई दिनुपर्छ भन्ने लगायतका कारण जनसरकार प्रमुख जगतको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
राजवन्दीको स्वास्थ्य प्रति खेलवाड गर्ने र उपचार नगरी मृत्युको डिलमा पु¥याउने कार्यप्रति नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ । घटनाको बारेमा आवश्यक छानविन र दोषी उपर कुनै कारवाही प्रक्रिया अगाडि नबढाई उल्टै शव बुझ्न परिवारलाई दिईएको दवावप्रति पनि नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ ।
पर्वत जिल्ला प्रशासनका सिडिओ, डिएसपी, जेलर लगायत उपचारमा संलग्नलाई पनि यस घटनाको विषयमा छानबिनको दायरा भित्र राख्न विज्ञप्तिमा अनुरोध गरिएको छ । विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गर्न र घटनाका दोषीलाई कारवाहीमा सहयोग पु¥याउन मानव अधिकारकर्मी, कानुनविद् र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
उचित छानविन र दोषी उपर कारवाही नभएको खण्डमा थप संघर्षको कार्यक्रम गर्न बाध्य हुने जानकारी दिदैं विज्ञप्तिमा संघर्षको कार्यक्रमलाई सम्पूर्ण उद्योग, व्यवसाय, यातायात, कलकारखाना, शिक्षण संस्था लगायत सम्पूर्ण संघसंस्था बन्द गरी सहयोग गर्न पनि धौलागिरी ब्यूरो इन्चार्ज राजनले अपिल गरेका थिए ।
नेकपाका महासचिव विप्लवले जगतको निधन राज्यको अपाराधिक चरित्रको कारण भएको बताएका थिए ।
प्रतिक्रिया राख्नुहोस्