एन बि विश्वकर्मा
भन्छौ लोकतान्त्रिक संविधान
सबैको अधिकार छ समान
कुल्चिरहेका छौ आफ्नै भनाई
दुरूपयोग गरेका छौ विधि विधान
गणतन्त्र आयो भन्छौ
कोही राजा कोही रैती हुन्न भन्छौ
एउटा राजाको ठाउँमा हजारौं राजा
बनाएका छौ तिमीले आज
बलात्कारी र हत्याराको
संरक्षण गरेको छ संविधानले
तस्करी र भ्रष्टचारीको
सेवा गरेको छ संविधानले
उत्पीडित जनतालाई
न्याय दिएन संविधानले
देश र जनतालाई
स्वाधीन बनाएन संविधानले
उपचारका निम्ति रकम जुटाउँदै
सडकमा भौंतारिएका छन् अबलाहरू
एकछाक गर्जो टार्नकै निम्ति
भिख माग्दैछन् अनाथहरू
धारा छोएको आरोपमा
मारिएका छन् दलितहरू
खाडीमा नारकीय जीवन
बिताएका छन् युवा–युवतीहरू
महंगी र कर आतंकले
जनता थिलोथिलो भएको छ
बेरोजगारीको देश भन्ने
नेपालीको पहिचान बनेको छ
अनियमितता विरुद्ध आवाज उठाउनेलाई
आतंककारी बनाइएको छ
अराजकता विरुद्ध संघर्ष गर्नेलाई
अपराधी बनाइएको छ
जनताको आवाज एकातिर
शासकको काम अर्कोतिर
चुनावी नारा एकातिर
व्यवहारिक पारा अर्कोतिर
संविधानको सुन्दर व्याख्याले
शासकको जीवन सुन्दर बनाएको छ
किसान र मजदुरको जीवनलाई
झनझन कङ्गाल बनाएको छ.
पुष, ०७७
प्रतिक्रिया राख्नुहोस्