विश्व समाजवादी क्रान्तिमा माओको योगदान अतुलनीय : विप्लव

नेकपाद्धारा १२८ औं माओ दिवसको स्मरण

विश्व समाजवादी क्रान्तिमा माओको योगदान अतुलनीय : विप्लव


पुष १२, बुटवल । नेपाल कम्युनिस्ट पार्टीले १२८ औं माओ दिवस मनाएको छ । नेकपाका स्रोत अनुसार महासचिव विप्लवको उपस्थितिमा माओ दिवसको मनाइएको बताइएको छ । 

सभामा नेकपाका महासचिव विप्लवले सम्बोधन गरेको बताइएको छ । पार्टीका नेता, कार्यकर्ता, जनमुक्ति सेना र जनताको व्यापक उपस्थिति रहेको कार्यक्रममा महासचिव

विप्लवले माओत्सेतुङ विश्व क्रान्तिको नायक र दार्शनिक भएको उल्लेख गर्दै विश्व समाजवादी क्रान्तिमा उहाँको अतुलनीय योगदान रहेको बताएका छन् । उनले वर्तमान अवस्थामा संसद विघटनको परिघटना कुनै घटना, कुनै पार्टी, नेता वा सरकारको असफलता मात्र नभएर संसदीय व्यवस्थाकै असफलता भएको बताउँदै महासचिव विप्लवले पार्टीले जनता र अन्य राजनीतिक दलसहित संयुक्त बृहत मोर्चा बनाई नयाँ विकल्पको रुपमा प्रस्तुत हुने बताएका थिए । 

पार्टी प्रवक्ता प्रकाण्डले संसदीय दलहरु असफल भएको बताउँदै जनताको समस्या समाधान गर्ने एकमात्र पार्टी नेकपा भएको बताए । पार्टी सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले आधुनिक संशोधनवादका विरुद्ध माओले आजीवन संघर्ष गरेको भन्दै उहाँको योगदानलाई क्रान्तिकारीहरुले अनुसरण गर्नुपर्ने बताएको स्रोतले बताएको छ । 

कार्यक्रममा पार्टी सचिवालय सदस्य एवं केन्द्रीय जनसत्ताका प्रमुख सन्तोष बुढा मगरको समेत सहभागिता रहेको स्रोतले बताएको छ । 

महासचिव विप्लवको अध्यक्षता र प्रवक्ता प्रकाण्डको सञ्चालनमा सम्पन्न भएको बताइएको छ ।