माघ १२, बुटवल । सर्जक एवं विश्लेषक प्रकाश सायमीले सञ्चालन गर्दै आएको उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने रेडियो कार्यक्रम 'अजर अमर गीतहरू' एक हजार श्रृङ्खला पुगेको छ।
कला र संस्कृतिको संरक्षणका लागि विगत ६ वर्षदेखि 'अजर अमर गीतहरू' नामक कार्यक्रम प्रसारण हुँदै आइरहेको छ। कार्यक्रम एक हजार श्रृङ्खला पुगेको अवसरमा ललितपुरको झम्सीखेलमा भएको स्रष्टा भेटघाट कार्यक्रममा गीतकार, साहित्यकार तथा सर्जकहरूले शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सङ्गीत क्षेत्रको रोयल्टी व्यवस्थापन हुन नसकेको बताउँदै 'आउँदा दिनमा विदेशमा जस्तै नेपालमा पनि सङ्गीत क्षेत्रले पाउने रोयल्टीलाई व्यवस्थित बनाउन पहल गर्ने' प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा साहित्यकार तुलसी दिवसले 'अजर अमर गीतहरू' कार्यक्रमले पाठक र स्रोतामा सकारात्मक प्रभाव पारेको भन्दै यसको निरन्तरताको शुभकामना दिए।
त्यस्तै गायिका सङ्गीता प्रधानले रेडियो कार्यक्रमले अजर अमर गीतसँगै गीतकार र सङ्गीतकारलाई जीवन्त राखेको बताइन्।
कार्यक्रममा उज्यालोको मातृसंस्था कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले कला, संस्कृति संरक्षणका लागि रेडियो कार्यक्रम “अजर अमर गीतहरू” प्रसारण हुँदै आएको बताए।
प्रतिक्रिया राख्नुहोस्