फागुन १८, गुल्मी । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले गुल्मीमा सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ ।
सम्मान तथा भेटघाटको क्रममा गुल्मीमा युवा संगठन नेपालले जिल्लामा महान जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद मनोज तरामुको परिवारलाई भेटघाट तथा सम्मान गरेको छ । सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाटको क्रममा युवा संगठन नेपालले परिवारजनको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको युवा संगठन नेपाल गुल्मीले बताएको छ ।
भेटघाट तथा सम्मान कार्यक्रममा सहिद मनोज तरामुको बुबा नरबहादुर तरामुको अध्यक्षता र युवा संगठन नेपाल लुम्बिनी ब्यूरो इन्चार्ज विश्लेषणको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा इन्चार्ज विश्लेषणले जनयुद्धका महान सहिदहरुको सपना अधुरो रहेको भन्दै उनका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी भएको बताएका थिए । भेटघाट तथा सम्मान कार्यक्रममा युवा संगठन नेपालका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ ।
फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म रहेको छ । यसक्रममा नेकपाले देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्