बुटवलमा मार्क्सवादी दर्शन बहस कार्यक्रम सम्पन्न

मार्क्सको मुख्य शिक्षा नै वर्ग–सङ्घर्ष

बुटवलमा मार्क्सवादी दर्शन बहस कार्यक्रम सम्पन्न

फागुन २९, बुटवल । समाजवादी अभियान नेपाल, रूपन्देही जिल्ला समितिको आयोजनामा बुटवलमा मार्क्सवादी दर्शन बहस कार्यक्रम सम्पन भएको छ । 
 

कार्यक्रममा अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र, मार्क्सवादी सौन्दर्यशास्त्र र मार्क्सवादी विधिशास्त्रको बारेमा व्याख्या र विश्लेषण गर्दै गरिब, मजदुर र श्रमजीवीहरूको दर्शन नै मार्क्सवादी दर्शन भएको र मार्क्सको मुख्य शिक्षा नै वर्ग–सङ्घर्ष भएको बताए । उनले सर्वहारावर्गलाई शासकवर्गको रूपमा उठाउने र पूंजीवादी समाज र साम्यवादी समाजबिचको सङ्क्रमणकालीन अवधि बल प्रयोगबाट मात्र पूरा गर्न सकिने र मार्क्सवादी दर्शनलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताए । उनले उत्पीडित वर्गको उदेश्य, आकाङ्क्षा र लक्ष्य प्राप्तिमा माक्र्सवादी दर्शनले राजनीति, इतिहास र आर्थिक विषयमा महत्वपूर्ण योगदान दिएको र विभिन्न परिवर्तनका आधार नै मार्क्सवादी दर्शन भएकाले यसको औचित्य र महत्व सधैं जिवित रहने बताए । 

कार्यक्रममा प्रमुख बक्ता  विनोद उपाध्यायले मार्क्सवादी दर्शन, मार्क्सका विचार, मार्क्सको विश्वदृष्टिकोण र वर्तमान राजनीतिक घटनाक्रमको बारेमा चर्चा–परिचर्चा गरेका थिए । उनले कम्युनिस्ट आन्दोलनमा पैदा भएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरूलाई समयमै समाधान गर्नुपर्ने बताए । उनले राष्ट्रिय क्रान्तिलाई प्रधान बनाई राष्ट्रियता निर्माण गर्ने र संसदीय निर्वाचनको अन्त्य गर्नुपर्ने बताए । 

कार्यक्रमको प्रमुख बक्ता डा. बालकृष्ण चापागाई विश्वमा मार्क्सवादी दर्शन नै सबैभन्दा लोकप्रिय दर्शन भएको बताए । उनले मार्क्सवादी विद्यार्थीहरूको निमित्त मार्क्सवादी दर्शनको बहस, छलफल र अन्तरक्रिया गहन रुपमा गर्नुपर्ने बताए । 

कार्यक्रममा मार्क्सवादी अभियान नेपालका सचिव मिना न्यौपाने, मार्क्सवादी विज्ञान केन्द्रका केन्द्रीय सचिव होमनाथ न्यौपाने, अधिवक्ता ज्ञानु के.सी,  सामाजिक अभियन्ता तथा अधिवक्ता पदम कार्की, सहिद प्रतिष्ठानका अध्यक्ष राम प्रसाद बन्जाडे लगायतले मार्क्सवादी दर्शन र यसको औचित्यको बारेमा चर्चा–परिचर्चा गरेका थिए । 

गुनाराम घिमिरेको सञ्चालन,  प्रशान्त वन्जाडेको संयोजनमा  भएको उक्त कार्यक्रम अभियानका जिल्ला संयोजक लेखनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।