रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई

न्यू होराइजन क्रिकेट क्लब उपविजेता

रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई

चैत १ , बुटवल । वेष्टर्न क्रिकेट क्लब बुटवलले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको न्यू होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो ।

खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले ९ विकेटको क्षतिमा १ सय ६ रन बनायो । वेष्टर्नले २८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरी जित निकाल्यो । ९ रनमा पहिलो विकेट गुमाएको वेष्टर्न सुरुवात्मै निकै दवावमा परेको थियो । दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए ।