दाङ । नेकपा दाङले निर्माण गरेको कोभिड बिरामी सङ्क्रमित कुरुवा प्रतीक्षालय शनिबार एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ । नेकपाका केन्द्रिय सदस्य, दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शितलले हस्तान्तरण कार्यक्रमको ब्यानर पढेर प्रतीक्षालय हस्तान्तरण गरेका हुन् ।
प्रतीक्षालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शितलले प्रतीक्षालयको दुरुपयोग नगरी संरक्षणमा जोड दिन अपिल गरे । उनले कोभिडको विषम परिस्थितिमा प्रतीक्षालयले बिरामी कुरुवाका लागि राहत प्रदान गर्ने बताए । कोभिडका कारण हजारौँ नागरिकहरुले ज्यान गुमाउँदा समेत राज्य दैनिकजसो सत्ता जोगाउ मै केन्द्रित रहेको उनको भनाई थियो ।
उनले भने, ‘रास्ट्रघात र जनघात रोक्नको लागि संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार गठन गरेर जनमत संग्रहमार्फत् व्यवस्था चुन्ने अधिकार जनतालाई दिनु नै सबैखाले संकटको समाधान हुने धारणा राखे ।
कार्यक्रममा कोरोना विशेष अस्पताल बेलझुन्डीका व्यवस्थापक दोर्ण वलिले प्रतीक्षालय निर्माण कार्यले पार्टी जनताप्रती उत्तरदायी पार्टी भएको बताए । उनले निर्धारित समयभन्दा पहिलेनै निर्माण कार्य सम्पन्न भएकोमा पार्टीलाई धन्यवाद दिए ।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदमप्रसाद न्यौपानेले कोभिड अस्पताललाई आवस्यक पर्ने प्रतीक्षालय निर्माण गरेर पार्टीले अनुकरणीय र उदाहरणीय काम गरेकोमा धन्यवाद दिए ।
प्रतीक्षालय निर्माणमा नेकपाका नेता–कार्यकर्ताहरुले श्रमदान गरेका थिए भने व्यवसायीहरु राम बहादुर खड्का, राजु थापा, गणेश इट्टा उधोगका ‘भिम’, हनुमान इट्टा उधोगका ‘मोहन’, देब गुरुङ, हरि केसि, असोद देवकोटा, ट्रस्ट जडानका ‘दुर्गा’, टोप बहादुर ‘अन्जन’ लगायतले आवस्यक सामग्रीहरु सहयोग गरेका थिए । प्रतीक्षालय निर्माणका लागि एक लाख तीस हजार लगानी भएको युवा संगठन नेपालका कन्द्रीय सदस्य तिलकले जानकारी दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सबिन, बेपत्ता परिवार समाजका केन्द्रिय अध्यक्ष सुन्दर, विशेष समिति सदस्य बिक्रम, प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपाने, मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंह, कोरोना विशेष अस्पताल बेलझुन्डिका व्यवस्थापक दोर्ण वली, प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्टराई, संस्कृत विश्वविद्यालय कर्मचारी व्यवस्थापन समिति सदस्य बिनय पोख्रेल र प्रेम खड्काको आतिथ्य रहेको थियो ।
कार्यक्रममा कोरोना विशेष अस्पताल बेलझुन्डीले प्रतीक्षालय निर्माणको उच्च प्रशंसा गर्दै जिल्ला पार्टीलाई सम्मान पत्र प्रदान गरेको छ ।
नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलक योगिले स्वागत मन्तव्य र पार्टी जिल्ला समिति सदस्य मनोजले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्