चैत १०, बुटवल । जनपत्रकार संगठन नेपालले रूपन्देहीमा पत्रकार महासंघको निर्वाचनका लागी गरिएको गठबन्धनमा संगठनको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति संगठनको नभएको बताएको छ ।
संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले मंगलबार एक वक्तव्य जारी गर्दै हस्ताक्षरप्रति संगठनको ध्यानाकर्षण भएको बताएको बताउनु भएको छ ।
विश्वकर्माले वक्तव्यमा भनेका छन्, “यही चैत ९ गते रूपन्देही जिल्लाको पत्रकार महासंघको निर्वाचनमा गठबन्धन गर्ने प्रयोजनका लागी जनपत्रकार संगठन नेपालको नाममा गरिएको हस्ताक्षरबारे हाम्रो ध्यानाकर्षण भएको छ ।”
विश्वकर्माले उक्त सहमतिमा आफ्नो संगठनको नाम हस्ताक्षर गर्ने व्यक्ति संगठनको आधिकारिक नभएको बताउनु भएको छ ।
सोमबार रुपन्देहीमा प्रेस संगठन नेपालको तर्फबाट भुवन कार्की, प्रेस चौतारी नेपालको तर्फबाट नरेश केसी, प्रगतिशील पत्रकार संघ, नेपालको तर्फबाट डीआर बञ्जाडे, प्रेस मञ्च नेपालको तर्फबाट टीआर शर्मा, क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट टेक मास्की राना र जनपत्रकार संगठन नेपालको तर्फबाट शिब डुम्रेले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्