समाजवादी शिक्षाको आवश्यकता

जनवादी शिक्षा भन्नू नै वैज्ञानिक समाजवादी शिक्षा हो ।

समाजवादी शिक्षाको आवश्यकता

नेपाली नागरिकलाई सुहाउँदो शिक्षा नहुनु राष्ट्रको लागि कम चुनौतीको बिषय होइन । राणा शासनकालमा उनीहरूका आसेपासे, सामन्तका सन्तानले मात्र अध्ययन गर्न पाउने तर आम नेपाली गरिवका सन्तानले अध्ययन गर्न नपाउने अवस्था थियो । यस्तो क्रुर शासनबाट आज नेपाली नागरिकले विद्यालय देख्न त पाएका छन् तर नागरिक सुहाउँदो शिक्षा अझै पाएका छैनन् । मानव इतिहासमा सामन्तवादी युगमा भन्दा आज केही हदसम्म नेपाली नागरिकहरुले आफ्नो अधिकार पाएका त छन् तर जुन हिसाबले शिक्षामा आमूल परिवर्तन हुनुपर्दथ्यो, त्यसो अझै भइसकेको छैन । शिक्षा जस्तो संवेदनशील बिषय आज सेवामूलक पेशाको अलवा नाफामूलक पेशा बनेको छ । शिक्षामा परिवर्तन बिना, देश र जनताको मुक्ति असम्भव छ । 

नेपालको इतिहासमा २००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि २००६ साल असार १० गते भुमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा अखिल नेपाल बिद्यार्थी फेडेरेसनको स्थापना भएको थियो । तत्कालीन समयमा राणा विरोधी आन्दोलन, हुँदै निरङ्कुश पञ्चायत विरूद्वको सङ्घर्षको क्रममा २०२२ मा उपत्यका स्तरिय विद्यार्थी भेला सम्पन्न भएको थियो । उक्त भेलाले सुजन (आत्मराम) खरेलको नेतृत्वमा ११ सदस्यीय समिति निर्माण गर्दै अनेरास्ववियुको जन्म भएको थियो । २०५० सालमा हेटौडामा भेला सम्पन्न भेलाले अनेरास्ववियु नामको पछाडी क्रान्तिकारी नाम थप्ने निर्णय ग¥यो र अनेरास्ववियु (क्रान्तिकारी) को जन्म भएको थियो । यसरी विभिन्न आन्दोलन वा सङ्घर्षको क्रममा अर्थात् विद्यार्थी आन्दोलनको एकता–सङ्घर्ष–रूपान्तरण हुँदै यहाँसम्म आइपुगेको छ । 

सामान्यतया अनौपचारिक शिक्षा नीतिबाट औपचारिक शिक्षा नीतिमा परिवर्तन हुनु नै शिक्षामा भएको विकासक्रम हो । समुन्नत समाज निर्माणको निम्ति शिक्षामा अमुल परिवर्तन आवश्यक छ । नेपालको इतिहासमा बेलायत भ्रमणबाट फिर्ता भएपछि जंगबहादुर राणाले वि.सं. १९१० असोज २० गते थापाथली दरवार चोकको भुइँतलामा दरवार स्कुल स्थापना गरेका थिए । विदेशीको दवावमा भारतका पाठ्यपुस्तक पढाउने सहमति गरी कलकत्ता विश्वविद्यालयको निर्देशन स्वरूप सञ्चालित दरवार स्कुल विदेशीको सिको र राणाहरूको लागि मात्र थियो । यस्तो क्रुर राणा शासनकालमा उनीहरूको सन्तानले मात्र पढ्न पाउने आम श्रमजीवी जनताको सन्तानले अध्ययन गर्न नपाउने शिक्षा नीति भएजस्तै अहिले धनी सम्पन्न पैसावालले मात्र अध्ययन गर्न पाउने अवस्था रहेको छ । नेपालमा अझै पनि ८० लाख बालबालिका शिक्षाबाट बन्चित छन् । यो राज्यको निम्ति कम चुनौतीको बिषय होइन । 

पुँजीवादी राज्यसत्ताबाट आम श्रमजीवी जनताको शिक्षा प्रणाली अपेक्षा गर्नु एउटा स्याउको विरूवामा सुन्तलाको गुण खोज्नु जस्तै हो । तसर्थ पुँजीवादी राज्यसत्ताबाट समाजवादी शिक्षाको कल्पना गर्नु केवल मुर्खता हुन्छ । कमरेड माओको शब्दमा “शिक्षाले सर्वहारा राजनीतिको अवश्य सेवा गर्नुपर्छ र शिक्षा उत्पादक श्रमजीवी जनतासँग जोडिएको हुन्छ ।” यो विचारबाट के पुष्टि हुन्छ भने शिक्षा सेवामुलक पेशा हो, जसको सम्बन्ध  श्रमजीवी जनतासँग जोडिएको हुन्छ । त्यसैले नेपाल जस्तो अर्धऔपनिवेशिक देशमा पुँजीवादी चिन्तन र व्यवहारबाट श्रमिक वर्गको निम्ति वैज्ञानिक शिक्षा प्रणाली स्थापना गर्न असम्भव छ । वैज्ञानिक शिक्षा प्रणाली स्थापना गर्नका लागि समाजवादी राज्यसत्ता स्थापना गर्न आवश्यक छ । नेपाल जस्तो मिश्रित बसोबास रहेको मुलुकमा आन्तरिक रास्टिृयता जब बलियो हुन्छ, तब मात्र बाह्य राष्ट्रियता पनि बलियो हुन्छ । राष्ट्रियता बलियो बनाउन पुँजीवादी राज्यसत्ता बदल्न आवश्यक छ । 

जनवादी शिक्षा भन्नू नै वैज्ञानिक समाजवादी शिक्षा हो । समाजवादी शिक्षाका अर्थ वैज्ञानिक शिक्षा, व्यवहारिक शिक्षा, सामान शिक्षा, निशुल्क शिक्षा, गुणस्तरीय शिक्षा र रोजगारीमूलक शिक्षा हो । समाजवादी शिक्षामा श्रमजीवी जनताको जीवन जोडिएको हुन्छ । शिक्षालाई अनिवार्य श्रमसँग जोडिन्छ । मानव जीवन, शिक्षा र विज्ञान प्रविधि आपसमा जोडिएको हुन्छ । समाजवादी शिक्षा बिना देश र जनताको समृद्धि सम्भव छैन । यसका लागी निरन्तर सङ्घर्ष आवश्यक छ । कमरेड माक्र्सले भनेजस्तै जब अधिकार मागेर पाइदैन तब बिद्रोह गरेर खोस्न तयार हुनुपर्छ । 

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नु भनेको पुँजीवादी शिक्षा शिक्षा नीति अन्त्य गर्नु हो । समाजवादी शिक्षा प्रणाली भनेको नयाँ राजनीति, अर्थतन्त्र र संस्कृतिको प्रणाली पनि हो । मौलिक अधिकारका रूपमा सर्वसुलभ तथा निशुल्क शिक्षा, उत्पादनसँग जोडिएको शिक्षा, वैज्ञानिक शिक्षा, प्रविधियुक्त तथा सीपमूलक शिक्षा, बहुआयामिक शिक्षा, श्रमसँग जोडिएको शिक्षा, व्यवसायिक शिक्षा नै वैज्ञानिक समाजवादी शिक्षाका आधारहरु हुन् । तर नेपालमा अहिले शिक्षामा व्यापारिकरण र दलालीकरण तीव्र भइरहेको छ । शिक्षालाई बौद्धिक र सेवामूलक होइन, नाफामूलक बनाइएको छ । नेपालको शिक्षा नीतिमा वैदेशिक प्रभाव रहेको छ । 

शिक्षाले श्रमिक वर्गको जीवनलाई जोड्ने र हरेक वस्तुलाई आलोचनात्मक दृष्टिकोणको विकास गर्नुपर्दछ । समाज र समयसँग संवाद गर्ने शिक्षा निर्माण आवश्यक छ । यसको निम्ति ज्ञानको निर्माण जनतासँग सिक्ने र सिकाउने अभ्यासबाट अबको समाज निर्माण गर्न आवश्यक छ । पुँजीवादको दवदवा विरुद्ध अहिले विश्वभर समाजवादी शिक्षाको पक्षमा आन्दोलनहरु चलिरहेका छन् । अबको क्रान्तिको उद्देश्य वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी हुनुपर्दछ । अबको मानव सभ्यता र विकासका लागी वैज्ञानिक समाजवादी सत्ताको मातहतमा रहेको समाजवादी शिक्षाको आवश्यकता छ र पुँजीवादी शिक्षाको अन्त्य जरूरी रहेको छ ।

(लालदिशा)