युवराज पन्थी
सर्वहारा वर्ग, मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गका महान् नेता तथा गुरु फ्रेडरिख एङ्गेल्सको द्विशतवार्षिकी (Bi-Centenary) को यो अवसरमा उहाँप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गरौं । सामाजिक क्रान्ति, सामाजिक रूपान्तरण र सामाजिक परिवर्तनको निरन्तरको प्रक्रियामा माक्र्स, एङ्गेल्स र मार्क्सवादले देखाएको वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तिको दिशामा अगाडि बढौं ।
—१—
फ्रेडरिख एङ्गेल्सको जन्म तात्कालीन प्रुसिया (हाल जर्मनी) को बर्मेन नगरमा २८ नोभेम्बर, २०२० मा भएको थियो । उहाँको जन्मको २०० वर्ष पुगेको छ । एउटा विकसित देशमा सम्पन्न परिवारमा जन्मनु भएका एङ्गेल्सले औपचारिकताभन्दा सबै पक्षमा ब्यवहारिकता अवलम्बन गर्नुभएको छ । उहाँले पढ्नुभयो तर शिक्षाको औपचारिक डिग्री लिनु भएन । उहाँले विद्यालय, महाविद्यालय वा विश्वविद्यालय स्तरीय परीक्षा दिनु भएन तर ज्ञान हासिल गर्र्ने प्रश्नमा कुनै क्षेत्रमा पछि पर्नुभएन । दर्शनशास्त्र, समाजशास्त्र, प्राकृतिक विज्ञान, अर्थशास्त्र, गणित, विभिन्न देशमा प्रचलित भाषाहरूमा उहाँको विद्वता गहन रह्यो । उहाँको विद्वताले नै मार्क्ससित उहाँको परिचय गरायो । मार्क्सका लेखहरू पढेर जसरी फ्रेडरिख एङ्गेल्स कार्ल मार्क्सको नजिक पुग्नुभयो, त्यसरी नै एङ्गेल्सले लेख्नुभएका लेखहरू पढेर उहाँप्रति मार्क्स प्रभावित हुनुभयो । “इङ्ल्यान्डमा श्रमिक वर्गको अवस्था” नामक उहाँको अनुसन्धानमूलक कृति पढेर कार्ल मार्क्सले खालि एङ्गेल्सको उच्च मूल्याङ्कन मात्रै गर्नुभएन, उहाँहरूबीच बेजोड मित्रता गाँसियो । पवित्र परिवार अथवा ब्रुनो बायर र कम्पनीको विरुद्ध समीक्षात्मक आलोचनाको समीक्षा, जर्मन विचारधारा, कम्युनिस्ट पार्टीको घोषणा–पत्रलगायत कैयौं कृतिहरू मार्क्स र एङ्गेल्स दुवैजनाले संयुक्तरूपले रचना गर्नुभयो । कम्युनिस्ट पार्टीको घोषणापत्र र मार्क्सवादको महान् ग्रन्थ, पूँजीका लागि प्रारम्भिक आधारहरू खोज्न एङ्गेल्सले शुरु गर्नुभएको थियो । कम्युनिस्ट पार्टीको घोषणापत्र दुवैजनाले मिलेर रचना गर्नुभयो भने कार्ल मार्क्सले ४० वर्ष लामो समय लगाउँदै रचना गर्नुभएको पूँजीको पहिलो खण्ड स्वयं मार्क्सले सम्पादन गर्नुभएको बाहेक अरू दोस्रो र तेस्रो खण्डको सम्पादन एङ्गेल्सले गर्नुभएको थियो । यद्यपि पूँजीलाई राजनैतिक अर्थशास्त्रको समीक्षा भनिएको छ र अर्थशास्त्रको क्षेत्रमा देखा परेका विभिन्न अर्थशास्त्रीहरूका सही विचारहरूको उच्च मूल्याङ्कन तथा गलत र अस्पष्ट विचारको खण्डन अवश्य गरिएको भएतापनि पूँजी, अर्थात् समग्ररूपमा भन्दाखेरि मार्क्सवादी अर्थशास्त्र मार्क्सका पूर्ववर्ती अर्थशास्त्रीहरू र गैर– मार्क्सवादी अर्थशास्त्रीहरूका विचारहरूभन्दा बेग्लै र विपरीत सामाजिक क्रान्ति, सामाजिक रूपान्तरण र सामाजिक परिवर्तन, अर्थात् मानिसमाथि मानिसको शोषण, दमन र उत्पीडन, असमानता, भेदभाव, आदि अन्त्य गरेर “क्षमतानुसारको काम र काम अनुसारको दाम”को स्थिति निर्माण गर्दै त्यसबाट अगाडि बढेर “क्षमता अनुसारको काम र आवश्यकता अनुसार दाम”को ब्यवस्था, साम्यवादी ब्यवस्थाको सूत्राधार र त्यसका लागि निरन्तर क्रान्तिकारी ब्यवहारिक दिशा निरूपण गरिएको छ । मार्क्सवादी अर्थशास्त्रलाई मार्क्सवादका मुख्य सङ्घटक अङ्गहरूमध्ये एक मानिन्छ । त्यसको अर्थ मार्क्सवादी अर्थशास्त्रले खालि विशुद्ध अर्थशास्त्रप्रति मार्क्सवादी दृष्टिकोणको प्रतिनिधित्व गर्छ भन्ने मात्र नभएर साम्यवादी सिद्धान्तलाई ब्यवहारिक रूप दिनका लागि यो एउटा मुख्य अङ्ग हुन्छ । यसको आधारमा मार्क्स र एङ्गेल्सले मूल्य र अतिरिक्त–मूल्यको नियमलगायत कैयौं अर्थशास्त्रीय अनुसन्धानहरू गर्नुका साथै गैर– मार्क्सवादी वा पूँजीवादी अर्थशास्त्रका ती अन्तरविरोधहरूको अनुसन्धान गर्नुभएको छ, जसको कारण पूँजीवाद, साम्राज्यवादको अवश्यम्भावी पतन र मार्क्सवादको अवश्यम्भावी विजयको उद्घोष गर्नुभएको छ । त्यसको रूपरेखा एङ्गेल्सले लेख्नुभएको थियो र पूँजीको सम्पादन पनि । त्यसबाहेक प्रकृतिको द्वन्द्ववाद, परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति, इङ्ल्यान्डमा श्रमिक वर्गको अवस्था, जर्मनीमा किसान युद्ध, ड्युह्रिङ मतखण्डन, समाजवाद : काल्पनिक र वैज्ञानिक लेख्नुभएको छ । उक्त सबै कृतिहरूले मार्क्सवादको विकासमा अहम् भूमिका खेल्छन् ।
—२—
मार्क्स र एङ्गेल्सको सक्रियतामा १८४७ मा सर्वप्रथम कम्युनिस्ट लिगको स्थापना गरियो । १८६४ मा पहिलो अन्तर्राष्ट्रियको गठन भयो । १८७१ मा पेरिस कम्युनको स्थापना गरियो । पहिलो अन्तर्राष्ट्रियको विघटन (१८७६) भएको केही वर्षपछि पुनः १८८९ मा एङ्गेल्सको सक्रियता, पहलकदमी नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरियो । मई १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा घोषणा गरियो । क्लारा जेट्किनको पहलकदमीमा १९१० अन्तर्राष्ट्रिय श्रमिक दिवसको घोषणा गरियो । १९१७ मा लेनिनको नेतृत्वमा रूसमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । १९४९ माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । पछाडि परेको आर्थिक–सामाजिक ब्यवस्थालाई उन्नत समाजवादमा विकसित गर्नका लागि झन् छिटो, झन् राम्रो, झन् बलियोको प्रतिस्पर्धात्मक प्रणालीको महान् फट्को, सत्ताको सामूहिकीकरणको रूप जनकम्यूनको स्थापना र अभ्यास गरियो, पुराना विचार, पुराना चालचलन, पुरानो संस्कार–संस्कृति आमूल परिवर्तन गर्दै नयाँ समाजवादी विचार, नयाँ समाजवादी चालचलन र नयाँ समाजवादी संस्कार–संस्कृतियुक्त वैज्ञानिक समाजवादको निर्माण गर्ने उद्देश्यका साथ माओको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सूत्रपात र सञ्चालन गरियो । त्यस क्रममा विश्वको भूगोलको १/६ भाग र विशव जनसंख्याको १/३ भाग मुक्त भइसकेको थियो तथा एउटा सशक्त विश्व समाजवादी शिविरको स्थापना भइसकेको थियो । उक्त सबै संरचनाहरूले मार्क्सवादको साङ्गठनिक इतिहासको प्रतिनिधित्व गर्छन् ।
—३—
तर स्टालिनको मृत्युको लगत्तै सोभियत संघमा तथा माओको मृत्युको लगत्तै चीनमा पूँजीवादको पुनस्र्थापना पश्चात् ती संरचनाहरू एकपछि अर्को ध्वस्त बनाइए । तर कम्युनिस्ट आन्दोलन घुस्न सफल भएका वर्नस्टिन, काउत्स्की, ट्राटस्की, ख्रुश्चोभ, ब्रेजनेभ, टिटो, तेङ सियाओफिङ, लिन पियाओ, लिउ शाओची जस्ता पूँजीवादी एजेन्टहरूको कारण विश्वमा कहीँकतै समाजवाद र समाजवादी संरचनाका साथै सर्वहारा अन्तर्राष्ट्रवाद अस्तित्वमा छैन । त्यसो हुनु संसारभरिका सर्वहारा वर्ग, मजदूर, किसान लगायत सम्पूर्ण शोषित–पीडित जनसमुदायहरू तथा औपनिवेशिक वा नवऔविेशिक शोषण, दमन र उत्पीडनको चपेटामा परेका, थिचिएका र मिचिएका राष्ट्रहरूका लागि दुःखद अवस्था हो भने साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूका लागि खुसी । त्यसको साथसाथै नाम मात्रका “कम्युनिस्ट”हरू, अर्थात् संशोधनवादी “कम्युनिस्ट”हरूले नेतृत्व गरेको सोभियत संघको १९९० मा विघटन पश्चात् साम्राज्यवादीहरू, सबैखाले प्रतिक्रियावादीहरू र अवसरवादीहरूले कम्युनिस्ट आन्दोलन सधैंका लागि मरिसक्यो भनेर हर्ष बढाइँ गरिहँदाखेरि विश्व र नेपालका पनि नामधारी “कम्युनिस्ट”हरू लुट्ने र हसुर्ने ‘समय यही हो’, ‘अव सामाजिक–राजनैतिक क्रान्ति, सामाजिक रूपान्तरण र सामाजिक परिवर्तन’ “हुँदैन र आवश्यक छैन” भनिरहेका छन् । माक्र्सवादका संस्थापकद्वय कार्ल मार्क्स र फ्रेडरिख एङ्गेल्सको जन्म भएको २०० वर्ष नाघिसकेको तथा मार्क्सवादको सैद्धान्तिक विकास र ब्यवहारिक प्रयोग समेत असफल भएको आधा शताब्दी बित्न लागेको पृष्ठभूमिमा मार्क्सवाद पुरानो भइसक्यो भन्दै गइरहेका छन् । सर्वहारा वर्गका पक्षधरको ढोंगमा सत्तामा पुगेर विलासी जीवनको सुनिश्चितता गर्न लागि परेका छन् । त्यसरी संशोधनवादी भाटहरूले मूल्य र अतिरिक्त–मूल्यका सिद्धान्तहरू, संसारभरिका शोषित–पीडित जनसमुदायका एकताका कुराहरू, सर्वहारा अधिनायकत्वसम्बन्धी विषयहरू तथा पूँजीवादभित्रका अन्तरविरोधहरू र तिनको कारणले पूँजीवादी प्रणालीको विनाशको अवश्यम्भाविना दिनदहाडै खण्डन गरिरहेका छन् ।
—४—
तापनि लामो समयावधि नै किन नहोस् २००८ को सङ्कट सामना गर्नुपरेका विश्वभरिका पूँजीहरूले एकातिर, मार्क्सवाद पुरानो भयो वा मरिसक्यो भन्दाभन्दै पनि “मार्क्सवाद”को भुतले उनीहरूलाई सताइरहेको छ । पूँजीवादी प्रणालीको सङ्कटमाथि मध्यनजर गर्दै उनीहरूले कर्पोरेट पूँजीवादलाई सङ्घाधिपत्यवादको विकास गर्न प्रयत्न गरिरहेका छन् ।
—५—
अतः मार्क्सवाद अजेय छ, मार्क्सवादका शिक्षाहरू अजेय छन् । तर विश्व र हरेक मुलुकका आत्मगत र वस्तुगत परिस्थितिको ठोस अध्ययन–विश्लेषण गर्न तद्नुसार ठोस रणनीति र कार्यनीतिपछि पर्ने हो, विभिन्न किसिमका बाधा–विरोधहरू डराएर त्याग, तपस्या र बलिदान गर्न हिचकिचाउने हो भने साम्राज्यवादको रूपमा जीवित बाघ अस्तित्वमान छ, त्यसले पचाइदिनेछ । आदि विद्रोहीहरू, दास–भूदासहरू, किसानहरू, पूँजीवादी अथवा बीसौं शताब्दीका क्रान्तिकारीहरू जसरी ज्यानको बाजी लगाएर सङ्घर्ष गरेका थिए, त्यसरी नै त्याग, तपस्या र बलिदानका लागि खाँचो छ । इतिहासमा बलिदान मिथ्या पनि हुने गरेको छ र फेरि पनि मिथ्या नहोला भन्न सकिन्न तर विना त्याग, तपस्या र बलिदानविना सामाजिक क्रान्ति, सामाजिक परिवर्र्तन र सङ्क्षेपमा मार्क्स र एङ्गेल्सद्वारा प्रतिपादित शिक्षाको क्रम पूरा हुन सक्दैन, समाजवाद र साम्यवादले मूर्त रूप दिनु सम्भव नहोला ।
—६—
आजभन्दा २०० वर्षअघि माता एलिजावेथ “एलाइज” फ्रान्जिस्का मौरितियाभोन हार (Elisabeth "Elise" Franziska Mauritia von Haar (1797–1873) तथा पिता बरिस्ट फ्रेडरिख एङ्गेल्स (Friedrich Engels Sr. (1796–1860) का प्रथम सन्तानको रूपमा नोभेम्बर २८, १८२० मा बर्मेन (तात्कालीन प्रशिया राज्यको राजधानी, हाल वुपरताल, जर्मनी) मा फ्रेडरिख एङगेल्सको जन्म भएको थियो । उहाँ तीन जना भाईहरू, (रुडोल्फ एङ्गेल्स (Rudolf Engels), विल्हेम एङ्गेल्स (Wilhelm Engels) र हरमन एङ्गेल्स (-Hermann Engels) तथा चारजना बहिनीहरू—हेडविङ् एङ्गेल्स (Hedwig Engels), एलिज एङ्गेल्स (Elise Engels), म्यारिए एङ्गेल्स (Marie Engels) र अन्ना एङ्गेल्स (Anna Engels) का जेठा दाजु हुनुहुन्थ्यो । परम्परागत विवाह प्रणालीलाई पूँजीवादी संस्था भनेर एङ्गेल्सले आलोचना गर्नुहुन्थ्यो । त्यसरी उहाँ एकातिर, विवाह संस्थाका आलोचक हुनुहुन्थ्यो भने अर्कातिर, एकनिष्ट दाम्पत्य जीवनका पक्षधर । तैपनि एङ्गेल्सका दुई पत्नी थिए भन्दाखेरि अचम्म लाग्न सक्छ । तर त्यसमा अचम्म मान्नुपर्ने भने कुनै कारण छैन । किनभने उहाँले आफ्नी पहिली पत्नी म्यारी बर्नस् (एङ्गेल्स) (Mary Burns (Engels) (1821–1863)को मृत्यु भएपछि दोस्री पत्नीको रूपमा लिडिया लिजी बर्नस (एङ्गेल्स) Lydia "Lizzie" Burns (Engels) (6 August 1827– 12 September 1878) सँग दाम्पत्य जीवन शुरु गर्नुभएको थियो । म्यारी बर्नस् (एङ्गेल्स) र लिजी बर्नस् (एङ्गेल्स) दुवैजना दिदी बहिनी थिए । एङ्गेल्सले म्यारीका साथ दाम्पत्य जीवन १८६० को दशकमा बिताउनुभएको थियो । १८६३ मा उनको मृत्युपश्चात् १८७० को दशकमा लिडिया लिजीका साथ दाम्पत्य जीवन शुरु गर्नुभएको थियो । उनीहरू अइरिस नागरिक तथा कपास मिलमा रङ्ग्याउने काम गर्ने मिसेल बर्नस वा बाइर्ने (Michael Burns or Byrne) तथा म्यारी कोनराय (Mary Conroy) का छोरीहरू थिए । ती दुवै दिदीबहिनीहरू अशिक्षित, इमानदार, परिश्रमी महिलाहरू थिए । एङ्गेल्सलाई उहाँको सुप्रशिद्ध कृति “इङ्ल्यान्डमा मजदूर वर्गको स्थिति” नामक कृति सिर्जना गर्नका लागि म्यारी बर्नसले कारखानाको दयनीय स्थिति बताई सहयोग गरेकी थिईन् । उनले म्यानचेस्टर, स्यालफोर्डमा मजदूरको दर्दनाक स्थिति अवगत गराएर एङ्गेल्सलाई त्यससम्बन्धी अनुसन्धानका लागि आधार प्रदान गरेकी थिईन् । एङ्गेल्सले आफ्नी पत्नीको विषयमा बताउनु भएको छ : “मेरी पत्नी आइरिस सर्वहारा वर्गकी सच्चा छोरी थिईन् । त्यो वर्गप्रति उनको अपार श्रद्धा थियो, जुन वर्गमा उनको जन्म हुनु मेरो निम्ति मध्यमवर्गीय, शिक्षित र रूप लावण्य हुनुभन्दा अत्यन्त धेरै महत्वको थियो — र, तनावको समयमा त्यसले अत्यन्त धेरै सहयोग पु-यायो ।” एङ्गेल्स सम्पन्न बाबुआमाका छोरा हुनुहुन्थ्यो र, पूँजीपति वर्गीय उहाँको विरासत थियो तर उहाँले आफ्नो पारिवारिक विरासत र बाबुको धनदौलत, आदि रमाउनुभन्दा आफ्नो सर्वस्व न्योच्छावर गरेर श्रमिक वर्गीय चेतनाको विकास, सङ्गठन र आन्दोलनको लागि समर्पित गर्नुभयो ।
—७—
एङ्गेल्स ती सबैका अगाडि सच्चा वर्गदृष्टिकोणका, सच्चा प्रेमका, सच्चा आदर्शका, सच्चा इमान–जमानका, सच्चा परिवर्तनका, सच्चा क्रान्तिका, सच्चा रूपान्तरणका प्रतीकको रूपमा खडा भएर ती सबैलाई ललकारिरहनु हुन्छ, जसले सिद्धान्तप्रति, आदर्शप्रति, श्रमजीवी वर्गप्रति, क्रान्तिप्रति, सामाजिक रूपान्तरणप्रति, प्रेमप्रति गद्दारी र विश्वासघात गर्छन् । जसले सर्वहारा वर्गीय खोल ओढेर, कम्युनिस्ट नामको फेटा गुँथेर स्वयं सर्वहारा वर्ग, मजदूर, किसान लगायत सम्पूर्ण श्रमजीवी वर्गका जनसमुदायको शोषण, दमन, उत्पीडन गर्छन्, भ्रष्टाचार, कमीसनखोरी, दलाली गर्छन्, तिनलाई ललकार्नु हुन्छ — निश्चय नै एकदिन तिम्रो सर्वनाश हुन्छ, हुन्छ । निश्चय नै एकदिन त्यतिबेला पूँजीवादको सर्वनाश हुनु तथा वैज्ञानिक समाजवाद र साम्यवादको विजय हुनु अवश्यम्भावी छ, जतिबेला श्रमजीवी वर्गले आफ्नो श्रमको प्रतिफल के हो र कसरी पूँजीवादी परजीवी वर्गले श्रमजीवी वर्गको रगत–पसिना चुसेर आफूलाई समृद्ध बनाइरहेको छ भन्ने कुरा बुझ्दछ, सङ्गठित भएर तथा त्याग, तपस्या र बलिदानले ओतप्रोत भएर आफ्नो हक, हित र अधिकार खोस्न तयार हुन्छ । त्यसैले माक्र्ससँग मिलेर एङ्गेल्सले आहवान गर्नुहुन्छ “संसारका श्रमिकहरू, एक होऊ !” शोषित–पीडित जनसमुदाय एक होऊ ! अप्ठ्याराहरूदेखि नडराऊ, दृढतापूर्व सङ्घर्ष गर, जित्ने आँट गर । एङ्गेल्सको शिक्षाको आलोकमा माओ भन्नुहुन्छ : युवाहरू, संसार तिमीहरूको हो र यो जित्न तिमी सफल हुनेछौ । युवाहरू, तिमीहरू रनभुल्लमा नपर, यो संसार तिमीहरूको हो, हामीहरूको पनि हो । तर अन्तिम विश्लेषणमा तिमीहरूको हो, किनभने तिमीहरू बिहानीको सूर्य झैं उदीयमान छौ । हामीहरूलाई एङ्गेल्सले यही शिक्षा दिइरहनुभएको छ, यद्यपि उहाँ अगस्ट ५, १८९५ को दिन घाँटीको क्यान्सरका कारण सधैंका निदाउन पुग्नुभयो । तापनि उहाँले जुन विरासत छोड्नुभएको छ, त्यसले श्रमजीवी वर्गको लागि, मानिसद्वारा शोषित–पीडित मानवजातिको स्वाधीनता, मुक्ति, क्रान्ति, आमूल परिवर्तनकारी सामाजिक रूपान्तरणका लागि शिक्षा दिइरहेको छ, सधैंभरी दिइरहनेछ । सर्वहारा वर्गका महान् नेता तथा गुरु फ्रेडरिक एङ्गेल्स — अमर रहून् ! मार्क्सवाद — जिन्दावाद !
प्रतिक्रिया राख्नुहोस्