प्रचण्ड प्रतिबन्धित नेकपाप्रति नरम भएको ओलीको आरोप

प्रतिबन्धित नेकपाप्रति ओली अनुदार

प्रचण्ड प्रतिबन्धित नेकपाप्रति नरम भएको ओलीको आरोप


मंसिर १३, बुटवल । प्रधानमन्त्री तथा नेकपा (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड विप्लवले नेतृत्व गरेको नेकपाप्रति नरम भएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘समकालीन राजनीतिका कतिपय विषयमा तपाईंको दोहोरो, अस्पष्ट र अन्यौलग्रस्त विचारले म घरिघरि चिन्तित हुन्छु’, ओलीले शनिबारको सचिवालय बैठकमा पेश गरेको आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो । कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ?’

व्यक्तिगत रुपमा विप्लवप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको भन्दै ओलीले हिंसा छाडेर शान्तिपूर्ण बाटोमा आए उनलाई स्वागत गरिने बताएका छन् ।  तर अब पनि समाजमा हिंसा भइरहे त्यो किमार्थ स्वीकार्य नहुने आफ्नो सरकारको स्पष्ट दृष्टिकोण रहेको उनको भनाइ छ ।   

‘सरकारको यस्तो स्पष्ट नीतिप्रति तपाईँको द्विविधा किन ? सिके राउतले हिजो गरेको विखण्डनकारी गतिविधि अस्वीकार्य थियो । पछि उनले त्यस बाटोलाई छाडे र संविधान स्वीकारेर अगाडि आए । राष्ट्रिय विखण्डनको प्रयास छाडेर उनी राजनीतिक मूलधारमा आउने कुरा देशको लागि सकारात्मक होइन ? यो विखण्डनको राजनीतिको पराजय र राष्ट्रिय अखण्डताको जीत होइन ? तर यस्ता प्रश्नलाई विवादित बनाउने काम गर्नुभएको छ, किन ? मुलुकमा आज पनि जातीय र क्षेत्रीय अतिवादी सोचहरु छन् । सामाजिक सद्भाव बिगार्न खोज्ने प्रवृत्तिहरु छन् । त्यस विरुद्ध तपाईंको स्पष्ट अडान किन देखिँदैन ? किन त्यस्ता प्रवृत्तिलाई बारम्बार प्रोत्साहन गर्ने काम हुन्छ?’, ओलीले प्रचण्डलाई प्रश्न गरेका छन् ।

नेकपाका महासचिव विप्लवले भने मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा एक अनलाइनमा भिडियो अन्तर्वार्ता दिएर पार्टी बार्ताका लागी तयार रहेको तर सरकारको धारणा स्पष्ट नभएको बताएका थिए । उनले बार्ताको नाममा सरकारले आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र धरपकड गर्ने कार्य नरोकेको बताएका थिए ।