कञ्चनपुरको ब्रह्मदेवमा नेकपाको जनजागरण अभियान सम्पन्न 

व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने : इन्चार्ज जिवन

कञ्चनपुरको ब्रह्मदेवमा नेकपाको जनजागरण अभियान सम्पन्न 

गणेश एसके / कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर समितिको आयोजनामा ब्रह्मदेवमा जनजागरण कार्यक्रम अन्तर्गत जनसभा सम्पन्न भएको छ । 

सभालाई सम्बोधन गर्दै कञ्चनपुर इन्चार्ज जिवनले ब्रह्मदेव, कालापानी लगायत देशका दर्जनौ ठाउँमा भारतीय साम्राज्यवादले सिमा अतिक्रमण गरेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनतालाई एकजुत भई एकीकृत जनक्रान्तिमा सहभागि हुन आह्वान गरे । उनले राष्ट्रियताको रक्षा, जनअधिकारको ग्यारेन्टी र भ्रष्टाचार को अन्त्य गरेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नु नै आफ्नो पार्टीको एक मात्र लक्ष्य रहेको दाबि गरे । देशमा आफ्नो प्रतिनिधि छान्ने अधिकार जनताले पाए पनि व्यवस्था छान्ने अधिकार नपाएको भन्दै एकपटक व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने उनको भनाइ थियो । 

नेकपा भिमदत्त नगर इन्चार्ज खडक धामीको सञ्चालनमा भएको कार्यक्रममा जनजागरण अभियानका सह-इन्चार्ज दिलिप, बैतडीको दोगडा केदार गाउँपालिका इन्चार्ज ऐरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । उक्त जनसभा नेकपा कञ्चनपुर इन्चार्ज रमेश नेपाली जिवनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।