गोरखा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले बाहिर भ्रम फैलाए जस्तो आफूहरु कुनै पनि हालतमा वर्तमान दलाल संसदीय व्यवस्थाको सरकारमा सहभागी नहुने बताएका छन ।
आइतबार नेपाल पत्रकार महासंघ गोरखा शाखामा नेपाल कम्युनिस्ट पार्टी गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले यस्तो बताएका हुन । उनले सरकार संग नेकपाले ३ बुँदे सहमति बाहेक भित्री रुपमा अन्य कुनै पनि सहमती नगरेको नभएको बताए ।
उनले सरकारसंग भएको तीन बुँदे सहमती कार्यान्वयनको चरणमा रहेको समेत बताए । बास्तोलाले भने, ‘सरकारले अहिले सहमती अनुसार प्रतिबन्ध फुकुवा गर्नुका साथै राजबन्दी रिहा गर्ने र झुट्टा मुद्धा खारेज गर्ने तयारिमा रहेको छ ।’
पत्रकार सम्मेलनमा बोल्दै नेकपा नेता बास्तोलाले अहिलेको राजनितिक अस्थिरता, आर्थिक संकट, बेरोजगारीको समस्या सहित जनजीवीकासंग प्रत्यक्ष प्रभाव पार्ने लगायतका समस्याको जड अहिलेको संसदिय व्यवस्था नै भएको र यहि संसदीय व्यवस्थाले यी समस्याहरुको समाधान गर्न नसक्ने जनाउँदै समस्या समाधानका लागि आफुहरुले भनेको वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन जरुरी भएको बताए । सरकारसंगको वार्तामा हतियारका विषयमा कुनै सहमती र छलफल भएको देखिएन नि भन्ने पत्रकारको प्रश्नमा उनले यी राजनैतिक विषयसंग जोडिएको विषयवस्तु भएको, आफुहरु शान्तिपूर्ण राजनितिमा रहँदा नै सरकारले प्रतिबन्ध लगाएको र नेकपाले कुनै युद्ध सुरु नगरेकाले हतियारको प्रश्न नै नउठ्ने बताए ।
त्यसै गरि नेता बास्तोलाले वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्ने विषयमा निर्णय गर्ने जिम्मा जनतालाई दिनुपर्ने समेत बताए । उनले नेकपा राजनितिक पार्टी पार्टीहरुबीच छलफल गरि सहमती अनुसार वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्ने विषयमा आफुहरु जनमत संग्रहमा जान तयार रहेको बताए ।
गोरखा जेलको अवलोकन तथा भेटघाटः
यसै विच नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कंचन सहितको टोलिले गोरखाको जिल्ला कारागारको अवलोकन गर्नुका साथै बन्दिहरु र सुरक्षाकर्मीहरुसंग भेटघाट गरेको छ । टोलिमा नेकपा केन्द्रिय सदस्य तथा गण्डक व्युरो ईन्चार्ज उमा भुजेल, नेकपा गोरखा ईन्चार्ज कपिल भट्ट र पुर्व सांसद माया चेपाङ रहनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्