मन्त्री रायमाझी द्वारा दुई पुल शिलान्यास

पर्याप्त बजेट विनियोजन गरेर निर्माण कार्यलाई अघि बढाउने

 मन्त्री रायमाझी द्वारा दुई पुल शिलान्यास

 चैत्र ३१, अर्घाखाँची । उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले बाँगी खोलामा  दुई पुलको शिलान्यास गर्नु भएको छ । उहाँले   लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जिल्ला सडक पूर्वाधार विकास कार्यालय द्वारा निर्माण हुन लागेका पुलको शिलान्यास गर्नु भएको हो ।

 
१ करोड ६० लाख ८४ हजार लागतमा निर्माण हुन लागेको माटे(कविरा रामपथ सडक पुल रू १ करोड ५९ लाख ७० हजार लागतमा निर्माण हुन लागेको ढोरपाटन सडक देखि कर्णमारे जोडने सडक पुलको शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले जिल्लामा विकास निर्माणले तीब्रता पाएको भन्दै यहाँको विकासले राष्ट्रिय स्तरमा चर्चा पाएको बताउनुभयो । 
उहाँले थुप्रै राष्ट्रिय महत्त्वका सडकहरू निर्माणले समृद्धिको आधार तय गरेको बताउनुभयो ।

उहाँले कृषि, पर्यटन र जलविद्युतको माध्यमबाट रोजगारी सिर्जना गरिने भन्दै प्रचुर मात्रामा रहेका  संभावनाहरूलाई उजागर गर्दै जाने बताउनुभयो । २ सय ८१ मेगावाट क्षमताको  बहुप्रतिक्षित नौमुरे  जलविद्युत आयोजना  निर्माणको कार्यले गति लिने भन्दै पर्याप्त बजेट विनियोजन गरेर निर्माणको कार्यलाई अघि बढाइने बताउनुभयो ।

 
 रायमाझीले आफू र प्रदेश सांसदहरूले  गरेको विकासबाट अतालिएर  पछिल्लो समयमा केहि विकास बिरोधी तत्त्वले भ्रम सिर्जना गरेपनि जनता भ्रमको पछि नलाग्ने बताउनुभयो । 

कार्यक्रममा  राष्ट्रियसभा सांसद चन्द्र बहादुर खडका (उज्ज्वल), प्रदेश सांसद  चेतनारायण आचार्य,मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य,निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, नेकपा एमालेका नेताहरू नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाल लगायतको आतिथ्यता रहेको थियो । 


जिल्ला सडक पूर्वाधार कार्यालयका इन्जिनियर सरोज केसी र निर्माणको जिम्मा पाएको पिटिआर अधिकारी कन्स्ट्रक्सन प्रालिका प्रदिप अधिकारीले आयोजना बारे जानकारी गराउनुभयो ।