दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलन हेटौडामा हुँदै

देशभरबाट प्रतिनिधि तथा पर्यवक्षेकहरुको सहभागिता रहनेछ

दलित मुक्ति मोर्चाको  पाँचौ  राष्ट्रिय सम्मेलन हेटौडामा हुँदै


बैशाख ७, बुटवल । दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन हेटौडामा सम्पन्न हुने भएको छ । मोर्चाको सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लवले उद्घाटन गर्ने बताइएको छ । 
मोर्चाले सम्मेलनको मूल नारा ‘सामाजिक दलाल पँुजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौँ राष्ट्रिय सम्मेलन !!’ तय गरेको छ । सम्मेलन यही २०७८ वैशाख १५, १६ र १७ गते सम्पन्न हुनेछ । सम्मेलन अगाडी अहिले देशभर मोर्चाको जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न भइरहेको छ । राष्ट्रिय सम्मेलनमा देशभरबाट प्रतिनिधि तथा पर्यवक्षेकहरुको सहभागिता रहनेछ । 

दलित मुक्ति आन्दोलनको कार्यदिशा र स्वरूपमा नयाँ ढङ्गले नसोच्ने हो भने अब वास्तविक दलित मुक्ति सम्भव नभएको भन्दै दलित समुदायलगायत नेपालका सम्पूर्ण उत्पीडित जाति, समुदाय र वर्गको मुक्ति नेपालको आमूल परिवर्तनकारी राजनीतिक आन्दोलनसँग अभिन्न रूपमा अन्तर्सम्बन्धित भएको मोर्चाले बताएको छ । मोर्चाले राजनीतिक रूपमा देश स्वाधीन नभईकन र पुरानै मुट्ठीभर दलाल पँुजीपति वर्गको हित गर्ने संसदीय व्यवस्थामा फेरबदल नगरीकन दलित समुदायलगायत आम उत्पीडित नेपाली जनताको मुक्ति सम्भव नहुने समेत बताएको छ । 

मोर्चाले दलित मुक्ति आन्दोलनको कार्यदिशा अहिलेको दलाल संसदीय व्यवस्थामा सामान्य सुधार होइन कि यसलाई आमूल परिवर्तन गर्ने हुनुपर्ने भन्दै वैज्ञानिक समाजवादमा मात्र पूर्ण दलित मुक्ति सम्भव भएको बताएको छ । मोर्चाले माक्र्सवादी, लेनिनवादी र माओवादी विचारद्वारा निर्देशित एकीकृत जनक्रान्तिको माध्यमबाट मात्र यो सम्भव रहेको भन्दै दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद प्राप्तिको लागि सङ्घर्षमा अघि बढ्न अहिलेको एक मात्र विकल्प भएको बताएको छ ।