शिला शाही 'सञ्जिता'
सडकको पेटीमा भीख माग्दै
छाक टार्ने मानिस भन्छन्–
खै ! अधिकार कहाँ छ ?
घरबारविहिन सुकुम्बासी जनताले भन्छन्–
खै ! जमिन कहाँ छ ?
नब्बे डिग्री घाममा पिल्सिएका
विदेशको गल्ली–गल्लीमा
रोजगार खोज्दै हिँड्दै
भौतारिएका युवाले भन्छन्–
खै ! रोजगार कहाँ छ ?
विदेशका कोठी–कोठीमा बेचिएकी
नारी भन्छिन्–
खै ! मेरो अस्मिता कहाँ छ ?
आफ्नै गाउँ, समाज र छिमेकीबाट
बलात्कृत भएकी
प्रहरी चौकीमा धाउँदा पनि
न्याय नपाएकी नारीले भन्छिन्–
खै ! न्याय कहाँ छ ?
पुरुषको दासतापूर्ण साङ्गोमा
बाँधिएकी नारीले भन्छिन्–
खै ! मेरो स्वतन्त्रता कहाँ छ ?
गरिवको झुपडीमा हुर्किदै गरेका
पढ्न लेख्न नपाएका बालबालिका भन्छन्–
लाउने नाना छैन, खाने खाना छैन
खै ! मेरो शिक्षाको अधिकार कहाँ छ ?
रातदिन काम गरी श्रमको मूल्य
नपाएका मजदुरले भन्छन्–
बर्षदिन खोरियामा काम गर्दा पनि
छाक टार्न नसक्ने किसानले भन्छन्–
खै ! मेरो भोको पेटकको अधिकार कहाँ छ ?
अधिकार त मागेर मिल्दैन अब
खोसेर लिनुपर्छ
अधिकार संविधानमा पनि लेखियो
अधिकार दिन्छौ भन्दै भाषण
गरेको पनि देखियो
तर खै ! मेरो अधिकार कहाँ छ ?
युवालाई रोजगारको अभाव छ
बालबालिकालाई शिक्षाको अभाव छ
जनतालाई बास, गास र कपासको अभाव छ
छट्पटिएको बिरामीलाई स्वास्थ्यको अभाव छ
खै ! मेरो बाँच्न पाउने उपचारको अधिकार कहाँ छ ?
गरिबको झुपडीमा शान्ति छैन
नारीको सुनौलो दिन अझै आएको छैन
खै ! मेरो जीवन जिउने अधिकार कहाँ छ ?
अधिकार पाउनलाई
अब लड्नुपर्छ एकढिक्का भई
लड्नुपर्छ पुरुषसत्ता विरुद्ध
लड्नुपर्छ दलाल सत्ता विरुद्ध
ल्याउनुपर्छ नयाँ व्यवस्था,
अथवा वैज्ञानिक समाजवाद ।
०००
सामना परिवार
प्रतिक्रिया राख्नुहोस्