खै ! अधिकार कहाँ छ ?

 

शिला शाही 'सञ्जिता'

सडकको पेटीमा भीख माग्दै
छाक टार्ने मानिस भन्छन्– 
खै ! अधिकार कहाँ छ ?
घरबारविहिन सुकुम्बासी जनताले भन्छन्–
खै ! जमिन कहाँ छ ?
नब्बे डिग्री घाममा पिल्सिएका 
विदेशको गल्ली–गल्लीमा 
रोजगार खोज्दै हिँड्दै
भौतारिएका युवाले भन्छन्– 
खै ! रोजगार कहाँ छ ?
विदेशका कोठी–कोठीमा बेचिएकी
नारी भन्छिन्–
खै ! मेरो अस्मिता कहाँ छ ?
आफ्नै गाउँ, समाज र छिमेकीबाट 
बलात्कृत भएकी 
प्रहरी चौकीमा धाउँदा पनि
न्याय नपाएकी नारीले भन्छिन्–
खै ! न्याय कहाँ छ ?

पुरुषको दासतापूर्ण साङ्गोमा 
बाँधिएकी नारीले भन्छिन्–
खै ! मेरो स्वतन्त्रता कहाँ छ ?
गरिवको झुपडीमा हुर्किदै गरेका
पढ्न लेख्न नपाएका बालबालिका भन्छन्–
लाउने नाना छैन, खाने खाना छैन 
खै ! मेरो शिक्षाको अधिकार कहाँ छ ?
रातदिन काम गरी श्रमको मूल्य 
नपाएका मजदुरले भन्छन्–
बर्षदिन खोरियामा काम गर्दा पनि 
छाक टार्न नसक्ने किसानले भन्छन्–
खै ! मेरो भोको पेटकको अधिकार कहाँ छ ?

अधिकार त मागेर मिल्दैन अब
खोसेर लिनुपर्छ
अधिकार संविधानमा पनि लेखियो
अधिकार दिन्छौ भन्दै भाषण 
गरेको पनि देखियो
तर खै ! मेरो अधिकार कहाँ छ ?
युवालाई रोजगारको अभाव छ
बालबालिकालाई शिक्षाको अभाव छ
जनतालाई बास, गास र कपासको अभाव छ
छट्पटिएको बिरामीलाई स्वास्थ्यको अभाव छ
खै ! मेरो बाँच्न पाउने उपचारको अधिकार कहाँ छ ?

गरिबको झुपडीमा शान्ति छैन 
नारीको सुनौलो दिन अझै आएको छैन
खै ! मेरो जीवन जिउने अधिकार कहाँ छ ?
अधिकार पाउनलाई
अब लड्नुपर्छ एकढिक्का भई
लड्नुपर्छ पुरुषसत्ता विरुद्ध
लड्नुपर्छ दलाल सत्ता विरुद्ध
ल्याउनुपर्छ नयाँ व्यवस्था,
अथवा वैज्ञानिक समाजवाद । 
०००

सामना परिवार