मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले संगठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको साँस्कृतिक कार्यक्रम २०७८ सुरु गरेको छ । कार्यक्रमको उद्घाटन मनहरी गाउँपालिका २ नम्बर वडा अन्तर्गत पर्ने घट्टेपाखा भन्ने गाउँबाट वैशाख १३ गते गरेको हो भने १४ गते २ नम्बर वडाको ट्याङ्की दमारमा कार्यक्रम भएको थियो ।
उद्घाटन सँगै १३ गते घट्टेपाखामा भएको कार्यक्रम र १४ गते ट्याङ्की दमारमा भएको कार्यक्रममा मकवानपुर जिल्ला इन्चार्ज राम घलान ‘वाटर’को प्रमुख आतिथ्यता थियो भने सामना परिवारको इन्चार्ज सरलको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै मकवानपुर जिल्ला सेक्रेटरी सुर्य अर्याल, सचिवालय सदस्य विवेक घलान, जनसत्ता प्रमुख विक्रम मगर, अनेम संघ मकवानपुरका अध्यक्ष शुसिला सीन्तान, जिल्ला सदस्य गुण सिंह रुम्बा, जिल्ला सदस्य अनिशा मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि वाटरले दिनप्रतिदिन आफँैमा नांगिदै गइरहेको यो दलाल संसदीय व्यवस्थाले अब जनता र देशको निकास दिन नसक्ने बताए । उनले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले तय गरेको एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भई अघि बढ्न आम जनसमुदायलाई आग्रह गरे । वाटरले हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि माक्स लगाउनुपर्ने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता सुरक्षाका उपायहरू अपनाउन पनि आम जनसमुदायलाई अनुरोध गरे । त्यस्तै काम, घाम र अशान्तिले थकित भएका जनतालाई सामना परिवारका तर्फबाट नृत्य, गीत, गजल र क्यारीकेचर जस्ता सिर्जनात्मक क्रान्तिकारी प्रस्तुतिहरु पस्केर मनोरञ्जन दिलाइएको थियो ।
कार्यक्रमले घट्टे पाखामा शन्तलाल रुम्वाको नेतृत्वमा १९ सदस्यीय टोल कार्यसमिति सहित युवा, महिला, किसान र तामाङको चारवटा जनवर्गीय संगठन पनि निर्माण गरेको छ । त्यस्तै ट्याङ्की दमारमा रमेश रुम्बाको इन्चार्जसिप र करप रुम्वाको सेक्रेटरी हुनेगरी २२ सदस्यीय टोल कार्यसमिति सहित युवा, महिला, किसान, तामाङ र मजदुर गरी ५ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको छ । यसरी नै ‘संगठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको साँस्कृतिक कार्यक्रम २०७८’ लाई मकवानपुर जिल्लाको सबै ठाउँमा गर्ने कार्ययोजना समेत बनेको बताइएको छ ।
नव नियुक्त कार्यसमितिलाई कार्यक्रमका विशेष अतिथि एवं सामना परिवारका इन्चार्ज सरलले बधाई तथा शुभकामना दिएका थिए । मनहरी गाउँपालिकाको सेक्रेटरी ललित घलानको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सुर्य बहादुर गोलेले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्