पोखरा : अखिल (क्रान्तिकारी) कास्कीले बाजुरामा बिहे हेर्न आएकी एक बालिकामाथि तीन जनाको समूहले पेट्रोल छर्किएर आगो लगाई मार्न खोजिएको घटनाप्रती गम्भीर ध्यानाकर्षण गरेको छ ।
संगठनकी उपाध्यक्ष कमला परियारले विज्ञप्ति जारी गर्दै गत वैशाख २० गते बाजुराको त्रिवेणि नगरपालिका–९ मलाल गाउँमा बिहे हेर्न आएकी बालिका सभ्यता बुढामाथि सुमन गिरीसहित ३ जनाको समूहले पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको घटनाप्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । साथै उनले यस्तो अमानवीय र अपराधीक कार्य गर्नेलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गर्दै अन्यथा संगठन कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएकी छिन् ।
उपाध्यक्ष परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यहीँ २०७८ वैशाख २० गते बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–९ मलाल गाउँमा विवाह हेर्न भनी गएकी बालिका सभ्यता बुढामाथि पेट्रोल हालेर आगो लगाई मार्न खोजिएको अमानवीय घटनाप्रति हाम्रो संगठन अखिल (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको छ । उक्त निन्दनीय घटनाप्रति घोर विरोध गर्दछौं ।
यस्ता अमानवीय अपराधिक मानसिकता बोकी यस्तो काहालिलाग्दो घटना घटाउने सुमन गिरीसहित तीनै जना दोषीहरूलाई तत्काल गिरफ्तार गरी कडाभन्दा कडा कारबाहीको माग गर्दछौं । उक्त अपराधिक घटनालाई कुनै पनि बाहानामा ढाकछोप गर्न खोजिएको खण्डमा हाम्रो संगठन कडा संघर्षमा उत्रने यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौं ।’
प्रतिक्रिया राख्नुहोस्