कोरोना सचेतनादेखि श्रम : एक अनुभूति

- पवन ज्ञवाली 

कोरोना भाइरसको आतङ्क चलिरहेको समय । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको आयोजनामा जिल्लाका विभिन्न ठाउँमा मास्क, सेनिटाइजर वितरण एवम्  जनचेतनामूलक कार्यक्रमसहित घर दैलो गरिरहेका छौँ । यसैक्रममा जेठ १९, २०७८ मा नेकपा नेतृ सरिता, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर, अध्यक्ष इन्दु वली, उपाध्यक्ष पारस राहादी मगर, सदस्य प्रशुन ज्ञवाली र म रानीगञ्ज पुग्यौँ ।

बुटवल उपमहानगरस्थित रानीगञ्ज सुकुमबासी बस्तीमा मास्क, सेनिटाइजर बोकेर घरघर गयौँ । हामी पुग्दा बस्तीका बासिन्दाहरू खुसी भएका थिए । दिउँसो  करिब १२ बजेदेखि साँझ ५ बजेसम्म हामी निरन्तर सामग्री वितरणमा जुटिरह्यौँ । त्यस क्रममा त्यस बस्तीको बस्तुस्थिति अध्ययन गर्ने मौका पनि मिल्यो ।
०००
हिँड्दै जाँदा एउटा घर, जहाँ एउटा महिला घरको ढोका छेउमा सिरानी राखेर सुतिरहेकी थिइन् । सरिता कमरेडले ती महिलाको नाम लिएर बाहिर बोलाउनु भयो । क. सरितालाई देख्नेबित्तिकै ती महिला हस्याङ्फस्याङ् गर्दै ‘नमस्कार दिदी !’ भन्दै जुरुक्क उठिन् र बाहिर आइन् । सरिता कमरेडले ‘किन भूईँमा सुतेको ?’ भनेर प्रश्न गर्नुभयो । उनले भनिन् ‘गर्मी भएर हो दिदी ।’  ‘ल ! बाहिर आउनु त हामीले मास्क, सेनिटाइजर लिएर आएका छौँ । एउटा सानो सिसी लिएर आउनु !’  उनी ‘हवस् !’ भन्दै भित्र गइन् । 

उनले हातमा ढकिया बोकेर आइन् । हामी छक्क प¥यौँ । सरिता कमरेडले भन्नु भयो कि ढकिया हैन बोटल लिएर आउनु सेनिटाइजर राख्न हो । ती महिलाले हाँस्दै भनिन् कि उनी त चामल हो कि भनेर पो ढकिया लिएर आएका रहेछन् ! 

‘हेर्नू न दिदी ! घरमा चामल सकिन लाग्यो ।’ सरिता कमरेडले ‘अहिले त हामी मास्क, सेनिटाइजर बाँड्न आएको । हामी खाद्यान्नको लागि पनि पहल गछौँ । अहिलेलाई यो राख्नु है ।’ हामीले मास्क, सानिटाइजर दियौँ । 

फेरि ती महिला भन्छिन्, “हुन्छ । गरिदिनुहोला । अहिले लकडाउनले गर्दा काम गर्न पनि पाछैन ।” “राहत आउन त आको थियो भन्छन् तर मैले त पाएन । नेताहरूले उनिहरूकै पार्टीका मान्छेलाई दिन्छन् । हामीलाई न काम छ, न त माम नै ।” सरिता कमरेडले भन्नुभयो, “यस्तै हो । यो व्यवस्थामा जता नि आफ्नै मान्छे हेर्छन् ।” 
०००
हिँड्दै जाँदा हामी अति पिडित, असक्त वृद्ध सापकोटा दम्पतिको झुप्रोमा पुग्यौँ । त्यहीँ वरिपरि फोहोर पनि थियो । भाडा माझेको खरानी, भातका सिता जताततै छरिएको थियो । बस्तीका लगभग सबै घर टिन र पलास्टर गरिएका थिए । तर उक्त झुप्रो अलि फरक थियो । खरले छाएको, अम्रिसोले बारेको झुपडी । 

बस्ती छेउबाट तिनाउ नदी आफ्नै गतिमा बगिरहेको छ । नदीको छेउमा उक्त वृद्ध दम्पती निकै कष्टकर जीवन बिताइरहेका छन् । बर्षा याममा सो घरको खरको छानो चुहिन्छ । बुढा भन्दा बुढी चाहिँ अलि निरोगी रहेछिन् । बुढाको शरीरमा हाडछाला मात्र देखिन्थ्यो । बुढो मान्छे त्यसैमा पनि रोगले पीडित । यस्तो कष्टकर जीवन मैले कमै देखेको छु । मनमा अनगिन्ति प्रश्नहरू उब्जिरहेको छ ।

पछि बुझ्दै जाँदा उक्त खरको झुपडी पनि  केहि बर्ष अघि हाम्रै पार्टीको अग्रसरतामा बनेको रहेछ । खुसी पनि लाग्यो । त्यस्तो अवस्था हुँदा पनि सरकारको ध्यान नपुग्नु ज्यादै दुःखद् कुरा हो । हुन त राज्यको भूईँ मान्छेको पीडामा ध्यान छैन । किनकी यो दलाल संसदीय व्यवस्थाको विशेषता हो । यस्तै यस्तै विषय मनमा उब्जिरहेको थियो । धेरै बेर कुराकानी भो अन्तिममा मास्क, सेनिटाइजर दिदैँ अब उक्त घर पुनःनिर्माण गर्ने बाचासहित हामी त्यहाँबाट निस्कियौँ । त्यो दिन हामीले करिब ७० घरधुरीलाई मास्क, सेनिटाइजर वितरण गरियो । 
०००
जेठ २८ गते बिहान करिब ६ वजे  हामी पुनः सो बस्तीमा पुग्यौँ । पार्टी निकट युवा संगठन, नेपाल रुपन्देहीको नेतृत्वमा हामी ९ दिन पछि उक्त निवास पुनःनिर्माणमा खटियौँ । विद्यार्थी, युवा, महिला र पाटीका जिम्मेवार कमरेडहरू स्थानीयसहितको सहभागितामा काम सुरु गरियो । टिन र सिमेन्ट सहितको घर बन्ने भएपछि सापकोटा दम्पती निकै खुसी देखिन्थे । हामीलाई पनि निकै खुसी लागेको थियो । 

गिट्टी, बालुवा, ढुङ्गा, टिन लगायत निर्माण सामग्री जुटायौँ । र काम सुरु ग¥यौँ । वरिपरिका जनताको बिचमा सहकार्य गरेर सेवा गर्न पाउँदा छुट्टै उर्जा आएको महसुस भयो । म क्याम्पस पढ्ने विद्यार्थी किताबको गह्रुङ्गो झोला बोकेर बुर्जुवा पाठ्यक्रम रटान गरेको भन्दा कयौँ गुणा गजब सिकाइ एक दिनमै हासिल गरेको महसुस गरेँ मैले ।

समाज अध्ययन, सामूहिक कार्य, श्रम र संघर्ष । यी विषयहरूमा एकमुस्त व्यवहारिक ज्ञान मिलेको अनुभूति गरेँ । करिब ४ बर्ष देखि ‘बुर्जुवा शिक्षा खारेज गर ! वैज्ञानिक, व्यवहारिक र श्रम शिक्षा लागू गर’ भन्दै लगाएको छु । साँच्चिकै लाग्यो कि शिक्षा श्रमसित जोडिनुपर्छ । होइन भने यो बुर्जुवा शिक्षाले केवल रटान मात्र हुन्छ । 

पहिलो दिनमै धेरै कुरा सिक्ने अवसर मिल्यो । जनताकै घरमा खाना खाने अवसर मिल्यो । जनताको घरमा, जनतासँगै, जनताले पकाएको खाना निकै स्वादिष्ट लाग्यो । हामीहरू त्यहाँ पुगेर श्रम गर्दा स्थानीय बासिन्दाहरू निकै खुसी भए । 

हामीसँगै स्थानीयहरू निर्माण कार्यमा जुटे । हामीलाई निर्माणसम्बन्धी धेरै कामहरू स्थानीयले नै सिकाए । यसरी सामूहिक काममा आफू पनि सरिक हुन पाउँदा औधी खुसी लागेको छ । हामीलाई लाग्छ, घर छिट्टै निर्माण सम्पन्न गरि हस्तान्तरण गर्नेछौँ ।
०००