कोरोना प्रभावित परिवारलाई राष्ट्रिय युवा संघ तिलोत्तमाद्वारा वडावडामा राहत वितरण

खाद्य सामग्री वितरण

कोरोना प्रभावित परिवारलाई राष्ट्रिय युवा संघ तिलोत्तमाद्वारा वडावडामा राहत वितरण

लक्ष्मण पौडेल । तिलोत्तमा । राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटी रुपन्देहीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई तिलोत्तमाका वडावडामा पुगेर राहत वितरण गरिरहेको छ । 

युवा संघले महामारीबाट प्रभावित तिलोत्तमा नगरपालिकाका चारवटा वडामा रहत वितरण गरिसकेको संघका तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलले बताए । असार ५ गते वडा नम्बर १० कान्छीबजारका करिव ६० परिवारलाई खाद्यान्न वितरण सुरु गर्दै संघले अभियान थालेको हो । बिहीबार संघले नगरका तीनवटा वडामा पुगेर राहत वितरण गरेको अध्यक्ष कंडेलले जानकारी दिए ।

बिहीबार तिलोत्तमा ११  मा १८ घर, तिलोत्तमा–१४ मा १० घर र  वडा नम्बर ८ मा २ घर गरी ३० घर परिवारलाई राहत प्रदान गरिएको छ । जसमा २० केजी चामल, २ केजी दाल, एक लिटर तेल, सोयाविन, नुन लगायत खाद्य सामग्री रहेको छ । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले विभिन्न स्थानमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं’ अध्यक्ष कंडेलले भने ।

महामारीबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु आफूहरुको दायित्व रहेको पनि उनले बताए । युवाहरुबाटै रकम संकलन गरी विपन्न नागरिकलाई राहत प्रदान गरिएको उनले बताए । युवा संघले महामारीबाट प्रभावितलाई राहत वितरण गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।