माओवादी केन्द्रका नेता नेपाली नेकपामा प्रवेश

हेमन्त वली । दाङ । नेकपा (माओवादी केन्द्र)को पेशागत सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्लाका सचिवालय सदस्य लिलाधर नेपाली विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

नेपालीले बुधबार प्रेस विज्ञप्ति जारी  गर्दै पार्टी प्रवेश घोषणा गरेका हुन् । विज्ञप्तिमा नेपालीले हालसम्म आबद्ध शिक्षक सङ्गठनले शिक्षकहरुको समस्यालाई बेवास्ता गरेको, संसदीय व्यवस्थाबाट शिक्षकहरुको पेशागत हकहित र अधिकार संरक्षण नहुने र मुल पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पनि संसदीय व्यवस्थामा पतन भएको, जनअपेक्षाअनुसार काम गर्न नसकेको साथै वैज्ञानिक समाजवादका विषयमा जनतामा भ्रम सिर्जना गरेको हुनाले पार्टी परित्याग गरेको स्पष्ट पारेका छन् ।

नेपालीले सच्चा कम्युनिस्ट पार्टी अर्थात् वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशासहित अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टीको पेशागत सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेको विज्ञप्ति मार्फत जानकारी गराउदै देशभक्त, क्रान्तिकारी र प्रगतिशील शिक्षकहरु लगायत सम्पूर्णलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिल समेत गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.६ मा स्थायी बसोबास गर्ने लिलाधर नेपाली जनयुद्धकालदेखि नेपाल कम्युनिस्ट पार्टी माओवादी)मा आबद्ध भई निरन्तर क्रान्तिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका हुन् ।