नेकपाका नेता माइला लामा भन्छन्– ‘सरकार इमान्दार नभए आँधिबेहरी आउन सक्छ’

नेकपाका नेता माइला लामा भन्छन्– ‘सरकार इमान्दार नभए आँधिबेहरी आउन सक्छ’

बुटवल । नेकपाका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभए आँधिबेहरी आउन सक्ने बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता–कार्यकर्ता जेलमै रहेको बताए ।

‘सरकार तीन बुँदे सहमतिप्रति इमान्दार भएन भने, जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधिबेहरी आउन सक्छ’ उनले भने, –‘वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नुपर्छ ।’

बुधबार नेकपा निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै लामाले आफ्नो पार्टीले अहिले देखिएको समस्याको हल गर्ने अधिकार जनतालाई दिन आफ्नो पार्टीले प्रगतिशील सरकार, जनमत सङ्ग्रह, र वैज्ञानिक समाजवाद अगाडी सारेको बताए ।