हेमन्त वली । दाङ । नेपाल कम्युनिस्ट पार्टीको पेशागत सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्लाको १६ औँ पूर्ण बैठक सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकमा प्रमुख अतिथि शितलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
बैठकले सङ्गठनको ९ औँ जिल्ला सम्मेलन आगामी असोज महिनाभित्र गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्न डिल्लीराज डागी संयोजक रहने गरि २७ सदस्यीय सम्मेलन आयोजक समिती गठन गरिएको छ ।
बैठकले तुलसीपुर, घोराही र लमहीमा अन्तरक्रिया कार्यक्रम गर्ने, सबै सङ्गठनहरुसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने, शिक्षकहरुका पेशागत हकहित, अधिकारका लागि संघर्ष गर्ने, पालिकास्तरीय कमिटी गठन गर्ने जस्ता विविध मह्त्वपुर्ण निर्णय गरेको छ ।
यस्तै बैठकले पालिकाहरुमा इन्चार्जहरुको जिम्मेवारी ठोस गरेको छ । जसमा राप्ती गाउँपालिकामा धनिराम घर्ती मगर, गढवा गाउँपालिकामा कृष्ण हमाल, राजपुर गाउँपालिकामा नरेन्द्र वस्नेत, लमही नगरपालिकामा कविता खनाल, घोराही उपमहानगरपालिकामा हरिलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकामा मेघराज घिमिरे, वंगलाचुली गाउँपालिकामा चेतनाथ मगर, दंगिशरण गाउँपालिकामा लिलाधर नेपाली, शान्तिनगर गाउँपालिकामा कृष्ण चन्द ठकुरी र बबई गाउँपालिकामा लिलाधर विकलाई जिम्मेवारी प्रदान गरिएको छ ।
संयोजक डिल्लीराज डागीको अध्यक्षतामा बसेको बैठकमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीप, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय समितिका सदस्य तथा राप्ती ब्युरो इन्चार्ज नारायण भण्डारी, सङ्गठनका केन्द्रीय समिती सदस्य नेतृ निर्मला डिसि, नेकपा घोराही नगर इन्चार्ज तिलक, अखिल नेपाल शिक्षक सङ्गठन दाङका सल्लाहकार समिति सदस्य कृष्ण चन्द ठकुरी, अखिल (क्रान्तिकारी) दाङका पूर्व अध्यक्ष अनिलको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्