बुटवल । नेकपा रुपन्देहीका सबै जनवर्गीय सङ्गठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, टिकापुरका अबोध बालक विवेक बिष्टको हत्या र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा बिहिबार बुटवलको पुष्पलाल पार्कमा संयुक्त विरोध प्रदर्शन सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा निकट युवा सङ्गठन नेपाल लुम्बिनी ब्यूरो इन्चार्ज विश्लेषणले नेपाल आयल निगमले अन्तराष्ट्रिय मूल्य समायोजनको नाममा जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र यसको विरुद्ध कडा सङ्घर्ष गर्नुपर्ने बताए । उनले राज्य दलाल, कमिसनखोर र तस्करीहरूको घेराबन्दीमा परेको र त्यसको सास्ती आम जनताले खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरे । इन्चार्ज विश्लेषणले नेकपा निकट जनवर्गीय सङ्गठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, विवेक बिष्ट र सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको भन्दै यसको विरुद्ध सम्पूर्ण जनतालाई कडा सङ्घर्षमा उत्रिन अपिल गरे ।
अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले पेट्रोलियम पदार्थको मूल्य तत्काल खारेज नगरे कडा सङ्घर्षमा उत्रने चेतावनी दिए । उनले टिकापुरका अबोध बालक विवेक बिष्ट र चितवनकी युवती सुजिता भण्डारीको हत्या प्रकरणमा संलग्न हत्याराहरूलाई यथाशिघ्र सार्वजनिक गरी कारबाही गर्न माग गरे । उनले वर्तमान दलाल संसदीय व्यवस्थाका नाइकेहरूले नेपाली जनताको टाउकामा प्रतिव्यक्ति ५२ हजार ऋण थोपरेको भन्दै आक्रोश व्यक्त गरे । दलाल संसदीय व्यवस्थाबाट जनताको मुक्ति, राष्ट्रिय स्वाधीनता र जनताको रक्षा असम्भव रहेको भन्दै विकले यसको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता, विद्यार्थी, व्यवसायी, सञ्चारकर्मीको ठूलो मात्रामा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष रेखा खनालले गरेकी थिइन् ।
प्रतिक्रिया राख्नुहोस्