बुटवल । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले जिल्ला स्तरिय स्कुलिङ कार्यक्रमको उद्घाटन गरेको छ । शनिवार बुटवलमा कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कुलिङ पार्टीको नियमित कार्यक्रम भएको भन्दै पार्टीको विचारधारात्मक तथा वैचारिक विकास र क्षमता वृद्धिका लागी महत्वपूर्ण हुने बताउनु भयो ।
नेता कृतिले द्धन्द्धात्मक भौतिकवाद पार्टीको जीवन दर्शन भएको भन्दै यसका लागी विश्वदृष्टिकोणको अध्ययन जरुरी रहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीका सदस्यले कम्युनिस्ट दर्शन, नीति, संस्कार र संस्कृतिलाई अबलम्बन गर्नुपर्ने भन्दै त्यसले मात्र समाज रुपान्तरण गर्न सकिने बताउनु भयो । उहाँले समाज रुपान्तरण विश्व दृष्टिकोणसित अभिन्न रुपमा जोडिएको भन्दै यसका लागी कम्युनिस्ट स्कुल सञ्चालन जरुरी रहेको बताउनु भयो । उहाँले आजको साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध लड्ने वैचारिक हतियार मालेमावाद भएको भन्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागी यसका पक्षधरहरु एक हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय स्कुलिङ विभागका प्रमुख भेसराज भुसालले असल कम्युनिस्ट कार्यकर्ता र बलियो कम्युनिस्ट पार्टी निर्माणका लागी स्कुलिङ सञ्चालन गरिएको बताउनु भयो । अहिलेको विकसित परिस्थितिमा नेता, कार्यकर्ता र जनताबीच एकीकृत बुझाई, एकीकृत योजना, एकीकृत कमाण्ड र एकीकृत संघर्षले मात्र पार्टी लक्ष्यमा पुग्न सकिने बताउनु भयो ।
रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले आफुलाई बदल्ने र दुनियाँ बदल्ने उद्देश्यका लागी पार्टीले नियमित स्कुलिङ कार्यक्रम गरिरहेको भन्दै यसले नयाँ परिस्थितिमा पार्टीको जिम्मेवारी पुरा गर्ने विश्वास गर्नुभयो । उहाँले स्कुलमा अध्ययन गरेको विषयलाई पार्टी योजनामा कार्यान्वयन गरिने बताउनु भयो ।
पाँच दिनसम्म सञ्चालन हुने स्कुलिङ कार्यक्रममा जिल्ला सदस्य, सल्लाहकार, जनवर्गीय संगठन र मोर्चाका प्रमुखहरु, सहिद तथा बेपत्ता परिवारलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ । नेकपाले देशैभर पार्टी पुनर्गठनपछि कम्युनिस्ट स्कुल सञ्चालन गर्दै आइरहेको छ ।
स्कुलिङ कार्यक्रममा दर्शन, वैज्ञानिक समाजवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्र, विज्ञान र प्रविधि, इतिहास, एकीकृत जनक्रान्तिको कार्यदिशा र नयाँ कार्यनीतिलगायतका बिषयमा प्रशिक्षण हुने केन्द्रीय स्कुल विभागका प्रमुख भेसराज भुसालले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्