हेमन्त वली । दाङ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले जिल्लाको लमही नगरपालिका वडा नं.३ जखेरा टिकुलीगढ सुकुम्बासी बस्तीमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको छ ।
बस्तीमा बस्ने रुकमान चौधरी बसिरहेको तत्कालको घर अत्यन्त जीर्ण अवस्थामा पुगेको भन्दै नयाँ घर निर्माण गर्न लागिएको नेकपा दाङले जनाएको छ ।
घर निर्माण शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य बिक्रमले समाजलाई सामूहिक चेतनाको विकास गर्दै वैज्ञानिक समाजवादी मोडेल अनुसार पार्टीले जनताका घर–टहरा निर्माण गर्ने अभियानमा लागेको बताए । वैज्ञानिक समाजवादी राज्यव्यवस्था जनताको ,गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था भएको उनको भनाइ थियो ।
नेता बिक्रमले संसदीय व्यवस्थाको चुनावमा भाग लिन्छन् भन्ने भ्रम मात्रै भएको जिकिर गरे । उनले भने, ‘हामी जनमत संग्रहको व्यवस्था चुन्ने निर्वाचनमा भाग लिन्छौँ, संसदीय व्यवस्थाको व्यक्ति र पार्टी चुन्ने चुनाव होइन ।’ उनले संसदीय व्यवस्था भनेको शासकहरुले जनतामाथि शोषण, दमन, लुटपाट गर्ने साधन भएको धारणा राखे ।
कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपले आफूहरु नयाँ ढंगले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अवलम्बन गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढ रहेको धारणा व्यक्त गरे । उनले आफूहरुले संचालन गरेको क्रान्तिबाट अत्तालिएर दलाल सरकारले प्रतिबन्ध लगाएको ठोकुवा गरे ।
एक फरक प्रसङ्गमा सेक्रेटरी प्रदीपले आफूहरु प्रचण्डले जस्तो झुक्याएर राजनीति नगर्ने बताए । उनले भने, ‘हामी इमानदारी पूर्वक वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा छौँ । जनमत संग्रहको एजेन्डा लिएर तपाईहरुसंग छलफल गर्दैछौँ ।’ उनले सुकुम्बासी बस्तीमा बसोबास गर्ने जनताहरु र आफ्नो पार्टीबीच नङ र मासुको सम्बन्ध भएको बताउदै कसैले सुकुम्बासी बस्ती हटाएर जनतालाई बिचल्लीमा पार्ने दुस्साहस नगर्न अपिल गरे ।
घरको शिलान्यास निर्माण स्थलमा इट्टा राखेर कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य बिक्रमले गरेका थिए । कार्यक्रममा नेकपा दाङ जिल्ला सदस्य डिल्ली, एकराज, नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य द्वोय सौनी र मधुसुदनको आतिथ्य रहेको थियो ।
पार्टी जिल्ला कमिटी सदस्य डिल्लीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन तथा अध्यक्षता नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्