चिराइतोले उचित मूल्य नपाउँदा किसान मारमा 

मूल्यमा गिरावट आउन थालेपछि किसानहरु मर्कामा

चिराइतोले उचित मूल्य नपाउँदा किसान मारमा 


मंसिर १२ ।  बहुउपयोगी जडीबुटी चिराइतोको मूल्यमा गिरावट आएपछि भोजपुरका किसान मर्कामा परेका छन्। व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने बर्सेनि गिरावट आउन थालेपछि किसानहरु मर्कामा परेका हुन् ।

विगतका वर्षहरुमा प्रतिमन (४० किलोको एक मन) २० देखि  २५ हजार रुपैयाँमा बिक्री हुँदै आएको चिराइतो यस वर्ष प्रतिमन ६ हजार रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसान एकराज विष्टले भने बताए । ‘१२ रोपनी बारीमा चिराइतो खेती गरेको छु । मूल्य बर्सेनि घटिरहेको छ,’ विष्टले भने, ‘उत्पादन त राम्रो छ तर बजारीकरणमा समस्या हुँदा भने समस्या छौँ । अहिले प्रतिमन ६ हजार रुपैँयामा बिक्री गर्न बाध्य छौँ ।’

परिवारसँग बसेर आफ्नै ठाउँमा गरिने खेती भएकाले विदेशमा दुःख गर्नु भन्दा हाल पाउने गरेको मूल्य पनि ठिकै रहेको विष्ट बताउँछन् । निरन्तर खेती गरी रहेकोले एक न एक दिन राम्रो मुल्य पाउनेमा उनी आशावादी छन् ।

चिराइतोको मूल्य घटे पनि अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको किसानहरु बताउँछन् । सरकारको तर्फबाट सहयोग भएमा यसलाई विस्तार गर्न थप टेवा मिल्ने किसान पदम बस्नेतले बताए। ‘हाम्रो ठाउँमा धेरै किसान चिराइतो खेतीमा आवद्ध छौँ, उत्पादन पनि राम्रो छ,’ उनले भने, ‘यसको बजारीकरणका लागि सरकारको तर्फबाट साथ भए हामीलाई राहत हुने थियो ।’

विशेष गरेर १५ सय मिटरभन्दा माथिको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने विज्ञहरु बताउँछन् । भोजपुरमा उत्पादित चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायीले बताए । भोजपुरको अधिकांश माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिला लगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् ।